देवीघाटमा नेपाली सेनाले पाँच दिनमै बनायो ५७.९ मिटर लामो एक्रोब्रिज

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि नेपाली सेनाले पाँच दिनमै ५७.९ मिटर लामो एक्रोब्रिज निर्माण गरी सञ्चालनमा ल्याएको छ।
भदौ १० गते आएको भीषण बाढीले पुल बगाउँदा विदुर, बेलकोटगढी, नुवाकोट, धादिङ तथा रसुवागढीतर्फको आवागमन प्रभावित भएको थियो। महत्वपूर्ण सडक सम्पर्क टुटेपछि सरकारले देवीघाटमा तत्काल अस्थायी पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेको थियो।
नेपाली सेनाले भदौ २० गतेदेखि पुल निर्माण सुरु गरेको थियो। पाँच दिनको अवधिमा पुल तयार भए पनि वास्तविक कार्यअवधि करिब ७२ घण्टा रहेको सेनाले जनाएको छ। बिहीबार साँझदेखि पुल सबै प्रकारका सवारीसाधनका लागि खुला गरिएको छ।
नेपाली सेनाका रथी रञ्जित थापाका अनुसार ५५ जना प्राविधिक दिनरात खटिएर पुल निर्माण सम्पन्न गरेका हुन्। विदुर र गल्छी जोड्ने महत्वपूर्ण सडक सम्पर्क पुनःस्थापना गर्न सेनाले तीव्र गतिमा काम गरेको उनले बताए।
पुल सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रका स्थानीयवासीको दैनिक आवागमन सहज भएको छ। बेलकोटगढी नगरपालिका वडा नं. ८ जिलिङका सौगात पुडासैनीका अनुसार पुल बग्दा घर पुग्न दुईदेखि तीन घण्टा लाग्ने गरेकोमा नयाँ पुल सञ्चालनमा आएपछि करिब २५ मिनेटमै पुग्न सकिने भएको छ।
ढुङ्गानेगाउँका मनोज तामाङले पनि पुल पुनःसञ्चालनमा आएपछि स्थानीयवासीमा आशा जागेको बताए। बाढीले सडक सम्पर्क विच्छेद हुँदा दैनिक जीवन अत्यन्त कठिन बनेकोमा पुल सञ्चालनले ठूलो राहत पुगेको स्थानीयको भनाइ छ।
नेपाली सेनाको १४ नं. बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले पुल निर्माण गरेको हो। प्राविधिक परीक्षण पूरा गरेपछि पुल सञ्चालनका लागि हस्तान्तरण गरिएको छ।
विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले छोटो अवधिमा पुल निर्माण भएपछि पृथ्वी राजमार्गसँग विच्छेद भएको सम्पर्क पुनःजोडिएको बताए। उनले पुल निर्माणमा नगरपालिकाले आवश्यक समन्वय र सहकार्य गरेको जानकारी दिए।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका विदुर योजना प्रमुख कृष्णनाथ ओझाका अनुसार पुरानो पुलको करिब ५५ मिटर लामो बक्स गर्डर खण्ड बाढीले भत्काएको थियो। त्यसपछि सोही स्थानमा एक्रोब्रिज जडान गर्न सहज भएको हो।
नेपाली सेनाको १४ नं. बाहिनी अड्डाका बाहिनीपति जगदीश खड्काका अनुसार सेनाले गजुरीमा रणनीतिक जगेडाका रूपमा भण्डारण गरेको एक्रोब्रिज देवीघाट ल्याएर तादी खोलामा जडान गरेको हो।
प्रमुख सेनानी करुणबहादुर थापाका अनुसार पुल अमेरिकी प्रविधिमा आधारित छ। यसको भारवहन क्षमता ६० टन रहेको छ। नयाँ पुल सञ्चालनसँगै नुवाकोट हुँदै रसुवातर्फको आवागमन र अत्यावश्यक सामग्री ढुवानीमा समेत महत्वपूर्ण सहजता आएको छ।





