जलविद्युत आयोजनाबाट वन कार्यालयको राजस्व चार गुणाभन्दा बढीले वृद्धि

ड्रागन मिडिया सम्वाददाता
म्याग्दीमा जलविद्युत तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग तथा वृक्षारोपणबापत तिरेको रकमका कारण डिभिजन वन कार्यालयको राजस्व चार गुणाभन्दा बढीले वृद्धि भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा एक करोड १६ लाख ३५ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा पाँच करोड ३६ लाख ५३ हजार १३६ रुपैयाँ राजस्व संकलन गरेको हो।
डिभिजनल वन अधिकृत बसन्तकेशव अधिकारीका अनुसार ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत आयोजनाले सरकारी वन क्षेत्र उपयोग तथा वृक्षारोपणबापत पाँच करोड २९ लाख ४० हजार ३४१ रुपैयाँ राजस्व तिरेको छ।
त्यस्तै, डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाले एक लाख ९४ हजार ८८१ रुपैयाँ र राहुघाट जलविद्युत आयोजनाले वन क्षेत्र उपयोगबापत पाँच लाख १७ हजार ९१३ रुपैयाँ राजस्व बुझाएको छ।
संकलित राजस्वमध्ये दुई करोड ३३ लाख ३३ हजार ३१० रुपैयाँ संघीय सरकारको वन विकास कोषमा तथा ४५ लाख ४४ हजार ७५ रुपैयाँ मूल्य अभिवृद्धि करबापत जम्मा गरिएको छ। दुई करोड ९४ लाख २१ हजार ३२० रुपैयाँ प्रदेश सरकारको कोषमा दाखिला भएको कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा विभिन्न प्रजातिका तीन हजार ६०० किलोग्राम जडीबुटी, निगालोका ३० हजार टुसा, पाँच हजार खुरु, निजी आवादीबाट एक लाख ३५ हजार ५४० घनफिट काठ तथा १३.९३ चट्टा दाउरा बिक्री भएको थियो।
यसैगरी, एक हजार १०० किलोग्राम भिरमह, ५२० किलोग्राम नागबेली पाउडर, ८० किलोग्राम रातो च्याउ, ११ किलोग्राम लालीगुराँसको फूल र आठ किलोग्राम धुपीको पात निकासीका लागि अनुमति दिई राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।





