बाढीपीडितको पहिचानमा नेपाल प्रहरीसँग एफबीआईका फरेन्सिक विशेषज्ञ

ड्रागन मिडिया सम्वाददाता
नेपाल सरकारको अनुरोधमा अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईका फरेन्सिक विशेषज्ञहरू विनाशकारी बाढीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीसँग संयुक्त रूपमा काम गरिरहेका छन्।
एफबीआईले विपदमा ज्यान गुमाएका व्यक्तिको वैज्ञानिक पहिचान गर्न विशेष मानवीय तथा फरेन्सिक विशेषज्ञता उपलब्ध गराइरहेको छ। नेपाली सरकारी निकायसँगको समन्वयमा अमेरिकी नागरिकसहित सबै पीडितको पहिचान गरी सम्बन्धित परिवारलाई यथार्थ जानकारी उपलब्ध गराउन सहयोग भइरहेको जनाइएको छ।
बाढी प्रभावित क्षेत्र २०० किलोमिटरभन्दा बढी फैलिएको र पीडितको पहिचान सही तथा विश्वसनीय रूपमा गर्नुपर्ने भएकाले प्रक्रिया सावधानीपूर्वक र वैज्ञानिक ढंगले अघि बढाइएको छ।
एफबीआईले कामलाई सकेसम्म छिटो अघि बढाउन नेपालका सम्बन्धित निकायसँग सबै तहमा समन्वय गरिरहेको जनाएको छ। ठूलो क्षेत्र, विपदको गम्भीरता र सही पहिचानको आवश्यकता भएकाले प्रत्येक प्रक्रियालाई विधिपूर्वक पूरा गर्न समय लाग्ने बताइएको छ।
खोज तथा उद्धार कार्य जारी रहँदा अमेरिकाले आफ्ना नागरिकलाई बेपत्ता आफन्तको खोजीमा सहयोग गर्नुका साथै नेपाललाई आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।
अमेरिकाले विपदबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै ज्यान गुमाएकाका परिवारप्रति सहानुभूति जनाएको छ। साथै अझै बेपत्ता रहेकाहरू सुरक्षित रूपमा फर्कने आशा व्यक्त गरिएको छ।








