२९ भाद्र २०८३, सोमबार

चिनियाँ विकास मोडलबाट नेपालले स्थिरता र समाजवादी विकासको पाठ सिक्नुपर्छ : झलनाथ खनाल

ड्रागन मिडिया सम्वाददाता

नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक स्थिरता र दीगो विकासका लागि नेपालले चीनको अनुभवबाट गम्भीर रूपमा पाठ सिक्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सन् १९४९ को क्रान्तिपछि चीनले कायम गरेको राजनीतिक स्थिरता र त्यसकै आधारमा हासिल गरेको आर्थिक तथा सामाजिक प्रगतिलाई नेपालका लागि महत्वपूर्ण अध्ययनको विषयका रूपमा प्रस्तुत गरे।

खनालका अनुसार चीनले विकासका लागि स्थिरतालाई पहिलो र प्राथमिक शर्त मानेर अघि बढेकै कारण दीर्घकालीन उपलब्धि हासिल गर्न सकेको हो। “चीनले सन् १९४९ मा क्रान्तिमा विजय प्राप्त गरेदेखि नै स्थिरता कायम गरिरहेको छ। यो हामीले पनि सिक्नुपर्ने कुरा हो। स्थिरताबिना विकास सम्भव हुँदैन भन्ने कुरा चीनले बारम्बार भन्दै आएको छ,” उनले भने। चिनियाँ पक्षले नेपालमा राजनीतिक स्थिरता किन कायम हुन नसकेको भन्ने प्रश्नसमेत उठाउने गरेको उनको भनाइ थियो।

उनले चीनमा स्थिरता कायम हुनुका राजनीतिक, संस्थागत र सामाजिक आधारबारे नेपालले गम्भीर अध्ययन गर्नुपर्ने बताए। “चीनले जुन स्थिरता प्राप्त गरेको छ, त्यसका आधार कसरी निर्माण गरिए भन्ने कुरा नेपालका निम्ति पनि ठूलो चुनौती र अध्ययनको विषय हो,” खनालले भने। स्थिरताविना दीगो विकास सम्भव नहुने भएकाले नेपालले आफ्नो राजनीतिक संरचना र विकास प्रक्रियामा दीर्घकालीन सोच निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

खनालले चिनियाँ राजनीतिक प्रणाली वा विकास मोडलको जस्ताको तस्तै अनुकरण भने गर्न नहुने स्पष्ट पारे। चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफ्नो क्रान्ति र समाजवादी निर्माणका क्रममा बाह्य मोडललाई प्रत्यक्ष नक्कल नगरी चीनको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विशेषताअनुसार आफ्नै बाटो निर्माण गरेको उल्लेख गर्दै उनले नेपालले पनि त्यही सिद्धान्तबाट शिक्षा लिनुपर्ने बताए।

“चीनले समाजवाद निर्माणको जुन उदाहरण प्रस्तुत गरेको छ, त्यसबाट हामीले सिक्नुपर्छ। हामीले नक्कल गर्ने होइन,” खनालले भने। नेपालले अहिले अपनाएको लोकतान्त्रिक प्रणालीमा पश्चिमा लोकतन्त्रको प्रत्यक्ष प्रभाव अत्यधिक रहेको उल्लेख गर्दै उनले नेपालको इतिहास, संस्कृति, सामाजिक संरचना र राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक तथा विकासको मौलिक मोडल निर्माण गर्नुपर्ने धारणा राखे।

नेपालको राजनीतिक रूपान्तरण केवल बाह्य प्रणालीको अनुकरणबाट सम्भव नहुने उनको निष्कर्ष थियो। देशको विशिष्ट ऐतिहासिक अनुभव, सामाजिक बनोट र सांस्कृतिक आधारलाई स्वीकार गर्दै स्थिरता, विकास र समाजवादलाई जोड्ने नेपाली विशेषतासहितको दीर्घकालीन राजनीतिक मार्ग निर्माण गर्नुपर्ने खनालले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button