तीजमा पहिलोपटक भक्तपुरको केदारनाथ मन्दिर सर्वसाधारणका लागि खुला

ड्रागन मिडिया सम्वाददाता
भक्तपुर दरबार स्क्वायरस्थित ऐतिहासिक केदारनाथ मन्दिर हरितालिका तीजको अवसरमा पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको छ। तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर आज बिहानैदेखि दर्शनार्थीका लागि खोलिएको संस्कृति अध्येता गणेश रञ्जितकारले जानकारी दिए।
मन्दिरका पुजारी प्रमिलराज सुवेदीका अनुसार यसअघि केदारनाथ मन्दिर वर्षमा दुईपटक मात्र खुल्ने गरेको थियो। बुद्धजयन्ती अर्थात् वैशाख पूर्णिमा र महाशिवरात्रिका दिन दर्शनका लागि खोलिँदै आएको मन्दिर यस वर्ष तीजका व्रतालु तथा सर्वसाधारणलाई सहज रूपमा दर्शनको अवसर दिन खुला गरिएको हो। मन्दिर दिनभर खुला रहने जनाइएको छ।
मन्दिर खुला भएसँगै बिहानैदेखि दर्शनका लागि पुग्ने महिलाको उल्लेख्य सहभागिता देखिएको छ। स्थानीय सबिना बोहजुले पहिलोपटक मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरिन्। उनका अनुसार २०७२ सालको भूकम्पपछि मन्दिरमा क्षति पुगेका बेला उनले बाहिरबाटै महादेवको दर्शन गरेकी थिइन्। यसपटक भने भित्रै गएर दर्शन गर्न पाउँदा विशेष अनुभूति भएको उनले बताइन्।
भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्यराम सुवालले हरितालिका तीज २०८३ को अवसरमा दरबार स्क्वायर परिसरकै प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य महाआरती पनि आयोजना गरिने जानकारी दिए। उनका अनुसार तीजकै दिन चारधाम क्षेत्रमा एकै समय महाआरती सञ्चालन गरिनेछ।
धार्मिक तथा आध्यात्मिक महत्व बोकेको उक्त कार्यक्रममा तीजको व्रत बसेका महिला तथा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। केदारनाथ मन्दिर पहिलोपटक तीजमा खुला गरिनु र चारधाम क्षेत्रमा सामूहिक महाआरती आयोजना हुनु भक्तपुरको धार्मिक तथा सांस्कृतिक गतिविधिमा यस वर्षको विशेष आकर्षण बनेको छ।





