२९ भाद्र २०८३, सोमबार

पुटिनको विश्व युवा महोत्सवलाई सन्देश : समानता, मित्रता र प्रविधिमा सबैको पहुँचमा जोड

ड्रागन मिडिया समाचार कक्ष

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२६ को अन्तर्राष्ट्रिय युवा महोत्सवका सहभागी तथा अतिथिलाई शुभकामना दिँदै समानता, पारस्परिक सम्मान, राष्ट्रिय स्वतन्त्र छनोट र आधुनिक प्रविधिमा सबैको पहुँचमा आधारित न्यायपूर्ण विश्व निर्माण गर्न युवा पुस्तालाई आह्वान गरेका छन्।

सेप्टेम्बर १३ मा जारी सन्देशमा पुटिनले युरोप र एसियाको संगमस्थल यकातेरिनबर्गमा विश्वका विभिन्न देशका युवा नेता भेला भएको उल्लेख गर्दै उराल क्षेत्रलाई रुसको औद्योगिक, सांस्कृतिक र बौद्धिक विकासको महत्वपूर्ण केन्द्रका रूपमा प्रस्तुत गरेका छन्। नयाँ प्रविधिले मानव जीवन परिवर्तन गरिरहेको अवस्थामा भविष्यको विश्व कस्तो हुनुपर्छ भन्ने विषयमा युवाबीच संवाद हुनुपर्ने उनको भनाइ छ।

पुटिनले रुसी भाषाको “मिर” शब्दले मित्रता, शान्ति र सहमतिसँगै विश्व तथा पृथ्वीलाई समेत जनाउने उल्लेख गर्दै यसले रुसको बहुजातीय राष्ट्रिय चरित्र, निर्णय र व्यवहारबारे धेरै कुरा स्पष्ट गर्ने बताएका छन्। मित्रता बलियो र दीर्घकालीन हुनुपर्ने तथा छिमेकीबीच न्याय र पारस्परिक सम्मान कायम रहनुपर्नेमा उनले जोड दिएका छन्।

उनले मानिसको भविष्य राष्ट्रियता, आर्थिक हैसियत, सामाजिक दर्जा वा पारिवारिक पृष्ठभूमिले निर्धारण गर्नु नहुने बताए। प्रत्येक राष्ट्रलाई आफ्नो विकासको बाटो स्वतन्त्र रूपमा रोज्ने अधिकार हुनुपर्ने र औषधि, खाद्यान्न, पानी, ऊर्जा, शिक्षा तथा नवीनतम प्रविधिमा समान पहुँच सुनिश्चित गरिनुपर्ने धारणा उनले व्यक्त गरेका छन्।

पुटिनले आधुनिक प्रविधि समग्र मानवताका लागि उपलब्ध हुनुपर्ने भन्दै यस्तो विश्व निर्माणलाई रुसको आकांक्षा, उद्देश्य र सपना भनेका छन्। समान दृष्टिकोण राख्ने युवालाई रुसभित्रका परियोजनामा सहभागी हुन तथा आफ्नै देशमा खुला र न्यायपूर्ण विश्व निर्माणमा योगदान दिन उनले आग्रह गरेका छन्।

युवा पुस्ताप्रति विश्वास व्यक्त गर्दै पुटिनले वर्तमान समय उनीहरूको भएको बताएका छन्। उनले सहभागीलाई आफ्ना सपना पछ्याउन, अन्तर्राष्ट्रिय मित्रता र सहकार्य विस्तार गर्न तथा भविष्यको विश्व निर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button