३० भाद्र २०८३, मंगलवार

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’, दुई हजारभन्दा बढी सहभागी

ड्रागन मिडिया सम्वाददाता

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ शुरु हुँदैछ। दुई दिनसम्म चल्ने सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका असर, स्थानीय तहको भूमिका, अनुकूलनका उपाय तथा वातावरण संरक्षणसम्बन्धी विषयमा छलफल हुने र अन्त्यमा घोषणापत्र जारी गरिनेछ।

सम्मेलनमा सहभागी हुन देशभरका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझसम्म मुस्ताङ आइपुगेका छन्। घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार सातै प्रदेशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ पुगेका छन्। सहभागीको बसोबासका लागि स्थानीय होटलमा व्यवस्था मिलाइएको छ।

सम्मेलन व्यवस्थापनमा घरपझोङ गाउँपालिकाका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थालाई परिचालन गरिएको छ। गाउँपालिका उपाध्यक्ष जमुना थकालीका अनुसार सहभागीका लागि बिहानको खाजा, दिउँसोको खाना र खाजाको व्यवस्था सम्मेलनस्थलमै आमा समूहले गर्नेछ। बेलुकाको खाना र बसोबास भने गाउँपालिकाले तोकेका होटलमा हुनेछ।

सम्मेलनलाई भव्य बनाउन पाँचै वडाका सडक र बस्तीलाई स्थानीय मौलिक कला, संस्कृति तथा ध्वजापताकाले सजाइएको छ। मुख्य राजमार्ग र भित्री सडकमा सडकबत्ती जडान गरी उज्यालो बनाइएको छ। आगन्तुकको स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिएको छ। खानेपानी, इन्टरनेट र विद्युत सेवा नियमित राख्न आवश्यक पूर्वतयारी गर्नुका साथै सवारी पार्किङ र ट्राफिक व्यवस्थापन पनि मिलाइएको गाउँपालिकाले जनाएको छ।

जोमसोम कभर्डहलमा आयोजना हुने सम्मेलनका लागि मञ्च, ध्वनि प्रणाली तथा आवश्यक सजावट पूरा गरिएको सूचना अधिकारी विकास सज्यालले जानकारी दिए। सम्मेलनस्थलभित्र जलवायु परिवर्तनको असरबारे जनचेतना फैलाउने उद्देश्यले २८ फिट अग्लो ‘रोइरहेको पृथ्वी’ झल्काउने गोलाकार आकृति राखिएको छ। उक्त आकृतिले जलवायु संकटका कारण पृथ्वीमाथि बढिरहेको दबाबलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।

सम्मेलनस्थलमा मुस्ताङका स्थानीय कृषि उत्पादन, परम्परागत वस्तु तथा स्थानीय विशेषताको प्रचारप्रसारका लागि ५० भन्दा बढी प्रदर्शनी कक्ष राखिएका छन्। गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार यसबाट स्थानीय उत्पादनको बजार विस्तार र मुस्ताङको कृषि सम्भावना देशभरका जनप्रतिनिधिसमक्ष चिनाउने लक्ष्य राखिएको छ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र रूपमा देखिँदै गएको अवस्थामा आयोजित सम्मेलनलाई स्थानीय तहबीच अनुभव आदानप्रदान, साझा नीति निर्माण र जलवायु अनुकूलनका उपाय पहिचान गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। दुईदिने सम्मेलनको निष्कर्षका आधारमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, स्थानीय अनुकूलन र हिमाली पर्यावरण संरक्षणसम्बन्धी घोषणापत्र जारी गरिनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button