प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड रुपैयाँभन्दा बढी मौज्दात

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ मौज्दात पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेका नेपाली रुपैयाँ खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ।
त्यस्तै, कोषका अन्य दुईवटा बैंकमा रहेका अमेरिकी डलर खातामा दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर मौज्दात छ। नेपाली रुपैयाँ र अमेरिकी डलर खातामा रहेको रकमलाई समायोजन गरी हिसाब गर्दा कोषको कुल मौज्दात १४ अर्ब रुपैयाँभन्दा माथि पुगेको हो।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि यसअघि कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत निकासा गरिएको थियो। बाढीपछि सरकारले राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट कोषमा आर्थिक सहयोग जम्मा हुने क्रम जारी छ।





