३० भाद्र २०८३, मंगलवार

ऋषिपञ्चमीमा टेकुको ऋषेश्वर महादेव मन्दिरमा श्रद्धालुको भीड

ड्रागन मिडिया सम्वाददाता

ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा व्रतालु तथा श्रद्धालुको भीड लागेको छ। बिहानैदेखि विशेषगरी महिलाहरू पूजा, आराधना तथा दर्शनका लागि मन्दिर पुगेका छन्।

ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा तथा आराधना गरी व्रत बस्ने धार्मिक परम्परा छ। हरितालिका तीजको व्रतपछि महिलाहरूले स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने प्रचलन रहँदै आएको छ। यस दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको पूजा तथा स्मरण गरिन्छ।

कतिपय स्थानमा ३६५ वटा दतिवनले दाँत माझ्ने, माटो तथा गोबर प्रयोग गरी स्नान गर्ने र विधिपूर्वक सप्तऋषिको पूजा गर्ने परम्परा पनि छ। ऋषिपञ्चमीलाई वर्षभरि जानअन्जानमा भएका धार्मिक तथा सामाजिक त्रुटिको प्रायश्चित र शुद्धीकरणसँग जोडेर मनाउने गरिएको छ।

पर्वका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न शिवालय तथा धार्मिकस्थलमा पनि बिहानैदेखि श्रद्धालुको चहलपहल बढेको छ। टेकुको ऋषेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजाका लागि आउने व्रतालुको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको छ। बिहानैदेखि टेकु क्षेत्रको धार्मिक वातावरण भक्तिमय बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button