१ आश्विन २०८३, बिहीबार

देवघाटका १० भूमिहीन परिवारले पाए लालपुर्जा

ड्रागन मिडिया सम्वाददाता

तनहुँको देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा सुकुम्वासी परिवारले वर्षौंदेखि उपभोग गर्दै आएको जमिनको स्वामित्व प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति तनहुँले वडा कार्यालयमा आयोजित कार्यक्रममा १० जना भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो।

लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका स्थानीयले स्वामित्व प्रमाणपत्र पाएपछि खुसी व्यक्त गरेका छन्। मिनुमाया गुरुङ र सुनिता दर्जीले विगतमा पटकपटक आयोग बने पनि आफूहरूले पुर्जा पाउन नसकेको उल्लेख गर्दै अहिले बल्ल जमिन वास्तवमै आफ्नो भएको अनुभूति भएको बताए।

समितिले मिनुमाया गुरुङ, सुशीला गुरुङ, छविलाल गुरुङ, बुद्धबहादुर परियार, सोमबहादुर दमै, सुनिता दर्जी, सुरज दमाईं, एकबहादुर दर्जी, विष्णुबहादुर माझी र होममाया परियारलाई लालपुर्जा हस्तान्तरण गरेको छ। प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष शिवलाल तिवारी, गाउँपालिका अध्यक्ष तिलबहादुर थापा र उपाध्यक्ष भुवनसिंह गुरुङले संयुक्त रूपमा पुर्जा वितरण गरेका थिए।

प्रमुख जिल्ला अधिकारी तिवारीले लालपुर्जा वितरणले भूमिहीन नागरिकको सामाजिक तथा आर्थिक सुरक्षा सुदृढ बनाउन सहयोग पुग्ने बताए। गाउँपालिका अध्यक्ष थापाले बाँकी भूमिहीन परिवारलाई पनि आवश्यक प्रक्रिया पूरा गरी क्रमशः लालपुर्जा वितरणमा समेट्दै लगिने स्पष्ट पारे।

समितिले गत भदौ २५ गते जारी गरेको सातदिने सूचनापछि आवश्यक प्रक्रिया पूरा गरी पुर्जा वितरण गरिएको जनाएको छ। प्रचलित कार्यविधिअनुसार पहाडी क्षेत्रमा भूमिहीन दलित तथा सुकुम्वासीलाई बढीमा पाँच रोपनी १४ आनासम्म जग्गा निःशुल्क उपलब्ध गराउन सकिने कानुनी व्यवस्था छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button