१६ कार्तिक २०८३, आईतवार

चीनको ‘चिनियाँ माटाका भाँडाको राजधानी’ चिङ्देजेनलाई दिगो शहर विकासको विश्व पुरस्कार

ड्रागन मिडिया समाचार कक्ष

चीनको चिङ्देजेनसहित पाँच शहरले दिगो शहर विकासमा योगदान पुर्‍याएबापत चौथो चरणको विश्व पुरस्कार पाएका छन्। चिनियाँ माटाका भाँडाका लागि प्रसिद्ध चिङ्देजेनलाई शनिबार चीनको फुजोउमा आयोजित सन् २०२६ को विश्व शहर दिवससम्बन्धी कार्यक्रममा सम्मान गरिएको सिन्ह्वाले जनाएको छ।

पुरस्कार पाउने अन्य शहरमा इथियोपियाको अदिस अबाबा, कोलम्बियाको सान्तियागो दे काली, टर्कीको इस्तानबुल र पोल्यान्डको काटोविचे छन्। साङ्घाई पुरस्कार नामले समेत चिनिने यो सम्मान दिगो शहरी विकासमा उल्लेखनीय काम गरेका शहरलाई प्रदान गरिन्छ।

अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म चल्ने कार्यक्रममा संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारी, विभिन्न देशका सरकारी प्रतिनिधि, स्थानीय निकाय, अन्तर्राष्ट्रिय संस्था, शैक्षिक क्षेत्र, निजी क्षेत्र र सामुदायिक सञ्जालका प्रतिनिधि सहभागी छन्। उनीहरूले साझा शहरी चुनौतीका समाधान र सफल अभ्यासबारे छलफल गर्नेछन्।

संयुक्त राष्ट्रसंघको ६८औँ महासभाले सन् २०१३ मा अक्टोबर ३१ लाई विश्व शहर दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो। सन् २०१४ देखि मनाउन थालिएको यो दिवस संयुक्त राष्ट्रसंघमा चीन सरकारले प्रस्ताव गरेको पहिलो अन्तर्राष्ट्रिय दिवस हो।

प्राचीन रेशम मार्गको प्रमुख व्यापारिक वस्तुका रूपमा चिनियाँ माटाका भाँडाले चीन र विश्वबीच सांस्कृतिक सम्बन्ध विस्तार गरेका थिए। यही परम्परालाई अघि बढाउँदै चिङ्देजेनले सांस्कृतिक सम्पदा संरक्षण र सिर्जनात्मक नवीकरणलाई जोड दिएको छ। पुराना कारखानालाई कला तथा सिर्जनात्मक केन्द्रका रूपमा पुनः उपयोग गरिएको छ भने पुराना सडक र ऐतिहासिक बस्तीको संरक्षण तथा पुनर्जीवन गरिएको छ।

चिङ्देजेनमा माटाका भाँडा बनाउने हस्तकलासम्बन्धी अमूर्त सांस्कृतिक सम्पदाका तीन हजार दुई सयभन्दा बढी उत्तराधिकारी छन्। युनेस्कोको सिर्जनात्मक शहर सञ्जालले यस शहरलाई हस्तकला तथा लोककलाको शहरका रूपमा सूचीकृत गरेको छ।

चीनले सन् २०२६ देखि २०३० सम्ममा एक हजार पाँच सय पुराना सडक र कारखाना परिसरको पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ। पुराना क्षेत्रलाई नयाँ उद्योग र व्यवसायसँग जोडेर शहरी विकासलाई गति दिने योजना छ।

चीनको आवास तथा शहरी विकाससम्बन्धी अनुसन्धान संस्थाका उपनिर्देशक यान युएजिनका अनुसार पुराना सडक र कारखाना परिसरलाई कला तथा सिर्जनात्मक केन्द्रमा रूपान्तरण गर्दा भोजन, खुद्रा व्यापार र मनोरञ्जन क्षेत्रको विस्तारमा टेवा पुग्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button