चीनले मानवसहित चन्द्रमा अवतरणको विस्तृत योजना सार्वजनिक गर्यो

ड्रागन मिडिया समाचार कक्ष
चीनले मानवसहित चन्द्रमा अन्वेषणका लागि दुईवटा रकेट प्रयोग गरेर चन्द्रकक्षमा भेटघाट र यान जोड्ने योजना अघि सारेको छ। चन्द्रमा अवतरणसम्बन्धी विकास कार्य निरन्तर अघि बढिरहेको चिनियाँ अधिकारीले बताएका छन्।
चीनको मानवसहित अन्तरिक्ष कार्यक्रमका उपमुख्य डिजाइनर तथा चन्द्र अन्वेषण कार्यक्रमका मुख्य डिजाइनर वाङ स्याङले शनिबार बेइजिङमा आयोजित सातौँ मानवसहित अन्तरिक्ष सम्मेलनमा योजनाबारे जानकारी दिएका हुन्।
योजनाअनुसार एउटा रकेटले ‘लान्युये’ चन्द्र अवतरण यान र अर्कोले ‘मेङझाउ’ मानवसहित अन्तरिक्षयान पृथ्वी–चन्द्रमा स्थानान्तरण कक्षमा पुर्याउनेछ। त्यसपछि दुवै यान चन्द्रकक्षमा भेटिएर जोडिनेछन्। अन्तरिक्षयात्रीहरू मेङझाउबाट लान्युयेमा सरेपछि चन्द्रमाको सतहमा ओर्लने र वैज्ञानिक अध्ययन गर्नेछन्।
यो संरचना चीनको हालको प्राविधिक क्षमता र पूर्वाधारअनुकूल रहेको वाङले बताए। अन्तरिक्षयान र अवतरण यानलाई अलग-अलग विकास गर्दा उत्पादनलाई मानकीकरण गर्न र भविष्यमा यानहरूको दीर्घकालीन शृङ्खला निर्माण गर्न मद्दत पुग्ने उनको भनाइ छ।
योजनामा चुनौती रहेको स्वीकार गर्दै वाङले ती चुनौती सामना गर्न देशभरका स्रोतसाधन परिचालन गर्ने चीनको प्रणालीलाई मुख्य शक्ति बताए। एउटै विकास संरचनाअन्तर्गत प्रणालीगत योजना, प्राविधिक मापदण्ड र गुणस्तरका आवश्यकता तय गरिएको उनले जानकारी दिए। विभिन्न उपप्रणालीबीचको अन्तरसम्बन्ध परीक्षणमा जोड दिँदै एकीकृत डिजाइन अपनाइएको पनि उनले बताए।
लङ मार्च–१० रकेट, मेङझाउ अन्तरिक्षयान र लान्युये अवतरण यानको विकास कार्य सहज रूपमा अघि बढिरहेको चिनियाँ अधिकारीले जनाएका छन्। मेङझाउको शून्य उचाइ आकस्मिक उद्धार तथा अधिकतम गतिशील दबाबमा उद्धार परीक्षण, लान्युयेको अवतरण र उडान परीक्षण तथा लङ मार्च–१० को न्यून उचाइ प्रदर्शन र प्रमाणीकरण परीक्षण सम्पन्न भइसकेका छन्।
भविष्यको चन्द्र अन्वेषणमा स्रोतसाधन उपयोग गर्नुअघि ज्ञान र क्षमता निर्माण गर्नुपर्ने वाङले बताए। चन्द्रमालाई क्रमिक र व्यवस्थित रूपमा बुझ्न लामो समयसम्म सर्वेक्षण आवश्यक पर्ने उनको भनाइ छ।
मानवसहित चन्द्रमा अवतरण र मानवरहित चन्द्र अन्वेषणका धेरै महत्त्वपूर्ण प्रविधि, पूर्वाधार र जनशक्ति साझा हुने उनले बताए। चीनको छाङअ चन्द्र अन्वेषण कार्यक्रमबाट प्राप्त उपलब्धिले मानवसहित चन्द्रमा अवतरणलाई पनि सहयोग गर्ने वाङले उल्लेख गरे।





