१ आश्विन २०८३, बिहीबार

झापामा पाँच लाखभन्दा बढी नागरिकलाई जापानी इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने

ड्रागन मिडिया सम्वाददाता

झापामा जापानी इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण र मृत्युदर बढेपछि पाँच लाखभन्दा बढी नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालय झापाले आगामी असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका नागरिकलाई जेईविरुद्ध खोप दिने तयारी पूरा गरेको जनाएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि पाँच लाख ७० हजार डोज खोप जिल्लामा आइपुगेको छ। स्थानीय तहसँगको समन्वय, स्वास्थ्यकर्मीको अभिमुखीकरण र खोप केन्द्र व्यवस्थापनलगायत तयारी पूरा गरिएको छ। जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी सेवा सञ्चालन गरिनेछ।

अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन हुनेछन्। देशभरमध्ये झापामा जेई सङ्क्रमण उच्च देखिएकाले विशेष सतर्कता अपनाउँदै यहाँबाट खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ भने सात जनाको मृत्यु भइसकेको छ। सङ्क्रमितमध्ये ५० वर्षमाथिका छ जना र आठ वर्षीय एक बालक छन्। मृत्यु भएका सातै जनाले जेईविरुद्धको खोप नलगाएको पाइएको कार्यालय प्रमुख दासले बताए।

उनका अनुसार लक्षित समूहका कुनै पनि नागरिक खोपबाट नछुटून् भन्ने उद्देश्यले स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरिएको छ। खोप लगाएपछि सामान्य असर देखिन सक्ने भए पनि यसबाट गम्भीर स्वास्थ्य समस्या नहुने भन्दै उनले नागरिकलाई ढुक्क भएर अभियानमा सहभागी हुन आग्रह गरे।

स्वास्थ्य कार्यालयले गर्भवती महिला तथा तत्काल खोप लगाउन नमिल्ने स्वास्थ्य अवस्था भएका बिरामीबाहेक ३० वर्षमाथिका सबै लक्षित नागरिकलाई तोकिएको खोप केन्द्रमा पुगेर जेईविरुद्धको खोप लगाउन आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button