चीनको कृत्रिम पालनबाट उत्पादन हुने क्याभियारले जंगली स्टर्जनमाथिको दबाब घटाउँदै

ड्रागन मिडिया समाचार कक्ष
चीनमा तीव्र रूपमा विस्तार भइरहेको स्टर्जन माछापालन तथा क्याभियार उद्योगले विश्व बजारमा जंगली स्टर्जनबाट प्राप्त हुने क्याभियारको कानूनी र दिगो विकल्प उपलब्ध गराउँदै संकटमा रहेका स्टर्जन प्रजातिमाथिको दबाब कम गर्न महत्वपूर्ण भूमिका खेल्न थालेको छ। ठूलो परिमाणमा नियन्त्रित पालनबाट क्याभियार उत्पादन हुन थालेपछि अवैध रूपमा जंगली स्टर्जनबाट अण्डा संकलन गर्ने मागसमेत घटाउन सहयोग पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
मध्य चीनको हुबेई प्रान्तस्थित याङ्सी नदी किनारको यीटु शहर यस परिवर्तनको प्रमुख उदाहरण बनेको छ। यहाँ गाउँहरूबीच निर्माण गरिएका ठूला प्रजनन केन्द्र र कृत्रिम पोखरीमा १० लाखभन्दा बढी स्टर्जन पालिएका छन्। विगतमा स्थानीय जलक्षेत्र माछा मार्ने जाल र पिँजडाले भरिएका कारण पानी प्रदूषित हुनुका साथै स्थानीय जलचर प्रजातिमाथि समेत दबाब बढेको थियो।
चीनले सन् २०१६ देखि याङ्सी नदीको पारिस्थितिक प्रणाली संरक्षणलाई तीव्र बनाएको थियो। त्यसको पाँच वर्षपछि नदीमा व्यापक १० वर्षे माछा मार्ने प्रतिबन्ध लागू गरियो र याङ्सी नदी संरक्षण कानूनसमेत कार्यान्वयनमा आयो। संरक्षण अभियानअन्तर्गत यीटुसहित नदी किनारका क्षेत्रमा रहेका माछा मार्ने जाल र पिँजडा हटाइए। यससँगै परम्परागत नदीमा आधारित व्यवसायलाई समाप्त गर्नुको सट्टा जमिनमा आधारित आधुनिक मत्स्यपालनतर्फ रूपान्तरण गर्ने प्रक्रिया शुरु भयो।
सन् २०१८ मा चाइना छिङजियाङ यीटु स्टर्जन भ्याली स्थापना भएपछि स्टर्जन पालनले नयाँ औद्योगिक स्वरूप लियो। यसलाई विश्वकै पहिलो घरभित्र सञ्चालित औद्योगिक स्तरको स्टर्जन प्रजनन केन्द्रका रूपमा प्रस्तुत गरिएको छ। नदीबाट स्टर्जन पालन हटाएर जमिनमा नियन्त्रित वातावरणमा स्थानान्तरण गरेपछि एकातर्फ नदीको पानीको गुणस्तर सुधार भयो भने अर्कोतर्फ दुर्लभ जलचर प्रजातिको पुनरागमनका संकेत देखिन थाले। जमिनमा आधारित पालन भने ठूलो, केन्द्रीकृत र प्रविधिमैत्री हुँदै गएको छ।
उद्योगसम्बन्धी तथ्याङ्कअनुसार चीनले अहिले विश्वको कुल क्याभियार उत्पादनको करिब ६० प्रतिशत हिस्सा ओगटेको छ। छिङजियाङ स्टर्जन भ्याली स्पेसल फिसरी कम्पनीका महाप्रबन्धक जी जियानयीका अनुसार यीटुबाट मात्रै दैनिक १० हजारभन्दा बढी क्याभियारका बट्टा २० भन्दा बढी देशमा पठाइँदै आएका छन्।
स्टर्जनको नियन्त्रित प्रजननमा वैज्ञानिक तथा प्राविधिक विकासले उत्पादन विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ। स्टर्जन भ्यालीसँग अहिले ४० भन्दा बढी पेटेन्ट रहेको र पूर्ण स्वचालित डिजिटल प्रजनन प्रणालीसमेत सञ्चालनको तयारीमा रहेको बताइएको छ। उक्त प्रणाली सञ्चालनमा आएपछि यो विश्वका सीमित मानवरहित तथा बुद्धिमत्तामा आधारित स्टर्जन पालन केन्द्रमध्ये एक बन्ने अपेक्षा गरिएको छ।
ठूलो परिमाणको उत्पादनले कुनै समय अत्यन्त महँगो विलासी खाद्यवस्तुका रूपमा चिनिने क्याभियारको मूल्यसमेत उल्लेखनीय रूपमा घटाएको छ। एक दशकअघि एक किलोग्राम क्याभियारको मूल्य एक लाख ६० हजार युआनसम्म पुग्ने गरेकोमा अहिले चीनको ठूलो उत्पादन क्षमताका कारण दुई सय युआनभन्दा कम मूल्यमा समेत सानो बट्टा किन्न सकिने अवस्था बनेको छ।
जीका अनुसार चीनको क्याभियार उद्योगको विस्तार आर्थिक सफलतामा मात्र सीमित छैन, यसको महत्वपूर्ण पारिस्थितिक पक्षसमेत छ। विश्वव्यापी अत्यधिक शिकारका कारण विभिन्न स्टर्जन प्रजाति कुनै समय लोप हुने जोखिमको नजिक पुगेका थिए। कृत्रिम पालनबाट ठूलो परिमाणमा क्याभियार उत्पादन भएपछि जंगली स्टर्जनबाट अवैध रूपमा अण्डा संकलन गर्ने माग घटाउन सहयोग पुगेको उनको भनाइ छ। कम्पनीले आफ्नो उत्पादन तथा व्यापार वन्यजन्तु तथा वनस्पतिका संकटापन्न प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धिको प्रावधानअनुसार सञ्चालन भइरहेको जनाएको छ।
स्टर्जन पालनले स्थानीय ग्रामीण अर्थतन्त्रको स्वरूपसमेत परिवर्तन गरेको छ। पहिले मौसम र नदीमा निर्भर भएर माछा मार्ने स्थानीय बासिन्दा अहिले आधुनिक प्रजनन केन्द्रमा नियमित रोजगारी र प्राविधिक मत्स्यपालनमा संलग्न भएका छन्। यसले उनीहरूको आम्दानीलाई थप स्थिर बनाउन सहयोग पुर्याएको छ।
यीटुमा स्टर्जन उद्योगलाई माछापालनमा मात्र सीमित नराखी पर्यटन, विज्ञान शिक्षा, भोजन तथा आवास व्यवसायसँग समेत जोडिएको छ। यसरी चीनको स्टर्जन पालन मोडलले औद्योगिक उत्पादन, ग्रामीण पुनरुत्थान र पारिस्थितिक संरक्षणलाई एउटै श्रृंखलामा जोड्दै विश्व क्याभियार बजारमा जंगली स्टर्जनमाथिको निर्भरता कम गर्ने वैकल्पिक संरचना निर्माण गरिरहेको छ।





