एन्फा कार्यालयमा सिआइबीको अनुसन्धान, कागजात नियन्त्रणमा

ड्रागन मिडिया सम्वाददाता
अखिल नेपाल फुटबल संघ एन्फामाथि अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली एन्फा कार्यालय पुगेर केही कागजात नियन्त्रणमा लिएको छ। अनुसन्धानका क्रममा टोलीले कार्यालयमा रहेका पदाधिकारीसँग सोधपुछसमेत गरेको छ।
सिआइबीको टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशीसँग पनि सोधपुछ गरेको बताइएको छ। सिआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार एन्फासम्बन्धी विषयमा यसअघि नै अनुसन्धान भइरहेको थियो र त्यसैको सिलसिलामा टोली कार्यालय पुगेको हो। उनले केही कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र केही पदाधिकारीसँग सोधपुछ गरिएको जानकारी दिएका छन्। हालसम्म कसैलाई नियन्त्रणमा नलिइएको र अनुसन्धान जारी रहेको उनले बताएका छन्।
एन्फा पछिल्लो समय प्रशासनिक विवाद र फुटबल गतिविधि प्रभावित भएको विषयलाई लिएर चर्चामा छ। राष्ट्रिय खेलकुद परिषद्ले सुरुमा एन्फालाई निलम्बन गरेको थियो। पछि सर्तसहित निलम्बन फुकुवा गरिए पनि फिफाले विनाशर्त निलम्बन फुकुवा हुनुपर्ने अडान राख्दै एन्फामाथि प्रतिबन्ध लगाएको बताइएको छ। एन्फाका पदाधिकारीमाथि आर्थिक तथा प्रशासनिक अनियमितताको आरोपसमेत लाग्दै आएको छ। यद्यपि ती आरोप अनुसन्धानबाट प्रमाणित भइसकेका विषय होइनन्।
बिहीबार एन्फाका महासचिव किरण राईले पत्रकार सम्मेलन गरी खेलकुद गतिविधि पुनः सञ्चालन गर्ने र सोमबारदेखि कार्यालय सञ्चालनमा ल्याउने बताएका थिए। त्यसअघि नै सिआइबीको टोली कार्यालय पुगेर कागजात नियन्त्रणमा लिएपछि एन्फामाथि भइरहेको अनुसन्धान थप चासोको विषय बनेको छ।





