कांग्रेसको वडा अधिवेशन आज र भोलि, सक्रिय सहभागिताका लागि निर्वाचन समितिको आग्रह

ड्रागन मिडिया सम्वाददाता
काठमाडौं — नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आज र भोलि हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।
कांग्रेसको संशोधित निर्वाचन कार्यतालिकाअनुसार देशभरका छ हजार ७४३ वडामा असोज ३ र ४ गते स्थानीय अनुकूलताका आधारमा वडा अधिवेशन सम्पन्न गरिनेछ। वडा अधिवेशनबाट वडा कार्यसमिति निर्वाचित गर्नुका साथै क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ। पार्टीको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने कार्यक्रम छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिअनुसार वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत परिचालन गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ। जिल्ला निर्वाचन अधिकृतहरूले सम्बन्धित जिल्ला तथा स्थानीय तहका पार्टी पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायत तयारी गरेका छन्।
निर्वाचन समितिले वडा अधिवेशनबारे फैलिने अफवाह वा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै निर्धारित निर्वाचन प्रक्रियामा सहभागी हुन क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आह्वान गरेको छ।





