मन्त्री र मन्त्रालय हटाएर महाशाखा बनाउन ढुंगेलको व्यङ्ग्य

ड्रागन मिडिया सम्वाददाता
पूर्वसचिव द्वारिकानाथ ढुंगेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार संविधान र संसदीय शासन प्रणालीको मर्मअनुसार नचलेको भन्दै आलोचना गरेका छन्। प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीका सल्लाहकारहरूको कार्यशैलीबारे सञ्चारमाध्यममा आएका समाचार तथा टिप्पणीले प्रश्न उठाएको उनले बताएका छन्।
ढुंगेलले सामाजिक सञ्जालमा लेख्दै संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीपरिषद् सञ्चालन हुनुपर्ने र मन्त्रालयका जिम्मेवारी कार्यविभाजन तथा कार्यसम्पादन नियमावलीअनुसार तोकिनुपर्ने उल्लेख गरेका छन्।
राज्यका जिम्मेवार निकायलाई पन्छाएर प्रधानमन्त्री कार्यालय सक्रिय भएको भन्ने समाचारप्रति कटाक्ष गर्दै उनले सरकारको कार्यविभाजन तथा कार्यसम्पादन नियमावली खारेज गर्न, मन्त्रीहरू हटाउन र मन्त्रालयका काम प्रधानमन्त्री कार्यालयअन्तर्गतका महाशाखामा गाभ्न सुझाव दिएका छन्।
“संसद्प्रति एकल रूपमा प्रधानमन्त्री मात्र जिम्मेवार हुने व्यवस्था गर्नुहोस्,” ढुंगेलले व्यङ्ग्यात्मक रूपमा लेखेका छन्। यस्तो व्यवस्था गरे सरकार सञ्चालनको खर्च घट्ने र सिंहदरबारको प्रशासन कसरी चलिरहेको छ भनेर प्रश्न उठाउने आफूजस्ता नागरिकको झन्झट पनि नहुने उनको टिप्पणी छ।





