१९ कार्तिक २०८३, बुधबार

अमेरिकी राज्यस्तरीय निर्वाचनमा ह्यारी भण्डारी र सरहाना श्रेष्ठ विजयी

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकामा सम्पन्न राज्यस्तरीय निर्वाचनमा नेपाली मूलका राजनीतिज्ञ ह्यारी भण्डारी र सरहाना श्रेष्ठ विजयी भएका छन्। दुवै जना डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन्।

मेरिल्यान्ड राज्यको आठौँ जिल्लाबाट उम्मेदवार बनेका डा. ह्यारी भण्डारी लगातार तेस्रो पटक राज्यको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी सन् २०१८ मा पहिलो पटक निर्वाचित हुँदा अमेरिकी राज्यस्तरीय विधायिकामा पुग्ने पहिलो नेपाली–अमेरिकी बनेका थिए। सन् २०२२ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका भण्डारीले यसपटक पनि जित दोहोर्‍याएका हुन्।

भण्डारीले आफ्नो क्षेत्रमा शिक्षा, जनस्वास्थ्य, पूर्वाधार र युवाका लागि रोजगारीका अवसरलाई प्राथमिकता दिँदै आएको बताएका छन्। जितपछि उनले मतदाताले आफू र नेपाली–अमेरिकी समुदायमाथि पुनः विश्वास गरेको भन्दै आभार व्यक्त गरे।

न्युयोर्क राज्यको १०३औँ निर्वाचन क्षेत्रबाट सरहाना श्रेष्ठ पनि पुनः निर्वाचित भएकी छन्। जलवायु परिवर्तन, वातावरण संरक्षण, किफायती आवास र सामाजिक न्यायका विषयमा काम गर्दै आएकी श्रेष्ठ डेमोक्रेटिक पार्टी र वर्किङ फ्यामिलिज पार्टीका तर्फबाट उम्मेदवार बनेकी थिइन्।

श्रेष्ठ सन् २०२२ मा न्युयोर्क राज्य विधानसभामा निर्वाचित हुने पहिलो नेपाली–अमेरिकी बनेकी थिइन्। यसपटकको जितसँगै उनले दोस्रो कार्यकालका लागि आफ्नो स्थान सुरक्षित गरेकी छन्।

मेरिल्यान्डको सातौँ ‘ए’ निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका नेपाली–अमेरिकी सतीश चापागाईं भने पराजित भएका छन्। उनी डेमोक्रेटिक पार्टीको प्रारम्भिक निर्वाचन पार गर्दै मुख्य निर्वाचनमा पुगेका थिए। दुई सदस्य निर्वाचित हुने उक्त क्षेत्रमा रिपब्लिकन पार्टीका बहालवाला उम्मेदवारसँग प्रतिस्पर्धा गरेका चापागाईंले जित हासिल गर्न सकेनन्।

न्यु ह्याम्पसायर राज्यको हिल्सबरो ४१औँ निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका विश्वबहादुर शाहको अन्तिम परिणाम भने समाचार तयार पार्दासम्म आएको थिएन। म्यानचेस्टरका चार वडा समेटिएको उक्त क्षेत्रमा तीन सदस्य निर्वाचित हुँदैछन् र मतगणना जारी रहेको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button