चीनद्वारा सुरुङ उद्धार उपकरण नेपाललाई हस्तान्तरण, विपदपछिको पुनर्निर्माणमा थप सहयोग गर्ने प्रतिबद्धता

ड्रागन मिडिया सम्वाददाता
नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि सुरुङमा फसेकाहरूको खोज तथा उद्धारमा सहयोग गर्न चीनबाट ल्याइएका विशेष उपकरण नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सुरुङ उद्धार उपकरण हस्तान्तरणसम्बन्धी प्रमाणपत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा मन्त्री पुनले विनाशकारी विपदको सामना गर्ने क्रममा चीन सरकार र चिनियाँ जनताबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपालमा परिचालित चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको योगदानको प्रशंसा गरे। उनले विपद रोकथाम तथा न्यूनीकरण, आपतकालीन प्रतिकार्य र विपदपछिको पुनर्निर्माणमा नेपाल चीन सहकार्यलाई थप सुदृढ बनाउने आवश्यकता औँल्याए।

राजदूत चाङले चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको काममा नेपाली निकायले गरेको समन्वय र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै कठिन परिस्थितिको सामना गर्न चीन नेपालसँगै उभिने बताए। उनले विनाशकारी बाढी तथा पहिरोको प्रतिकार्य र विपदपछिको पुनर्निर्माणमा चीनले नेपाललाई थप सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल सरकारको अनुरोधमा चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयले यसअघि विशेष सुरुङ उद्धार विशेषज्ञहरू नेपाल पठाएको थियो। ती विशेषज्ञहरू प्रभावित जलविद्युत आयोजना तथा सुरुङ क्षेत्रमा भइरहेको जटिल खोज तथा उद्धार कार्यमा नेपाली टोलीसँग समन्वय गर्दै परिचालित भएका थिए। चीनले विशेषज्ञ टोलीसँगै उद्धार कार्यका लागि आवश्यक विशेष उपकरणसमेत नेपाल ल्याएको थियो।
यसअघि चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका वाई २० ठूला परिवहन विमानमार्फत आपतकालीन राहत सामग्री काठमाडौं ल्याइएको थियो। चीनबाट पाल, कम्बल, स्लिपिङ ब्याग, खाद्य सामग्री तथा प्राथमिक उपचार सामग्रीसहितका राहत सामग्री उपलब्ध गराइएको थियो। त्यसपछि पनि चीनले विपद प्रभावित क्षेत्रमा आवश्यक प्राविधिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ।
उद्धार अभियानमा प्रयोग भएका विशेष सुरुङ उद्धार उपकरण नेपाललाई हस्तान्तरण गरिनुले तत्कालीन विपद प्रतिकार्यमा मात्र नभई भविष्यमा सुरुङ तथा जटिल संरचनामा हुन सक्ने दुर्घटनाको सामना गर्ने नेपालको प्राविधिक क्षमता विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो विपदपछि खोज, उद्धार, राहत र पुनर्निर्माणमा नेपाल र चीनबीच विकसित सहकार्य दुई देशबीचको मित्रवत सम्बन्ध र व्यावहारिक मानवीय सहयोगको महत्त्वपूर्ण पक्षका रूपमा देखिएको छ।





