सिचाङमा लिङ्झी खेतीबाट समृद्धि

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित न्यिङ्छीको मिलिन शहरका न्यिमाले जङ्गली लिङ्झी सङ्कलनबाट शुरु गरेको सानो प्रयासलाई व्यावसायिक च्याउ खेतीमा विस्तार गर्दै स्थानीय रोजगारी र ग्रामीण आयआर्जनसँग जोडिएको उद्यमका रूपमा विकास गरेका छन्।
सन् २००८ मा तत्कालीन मिलिन काउन्टीले न्यिमाको परिवारलाई न्यून आय भएको परिवारका रूपमा दर्ता गरी उद्यम शुरु गर्न एक लाख ५० हजार युआन ऋण उपलब्ध गराएको थियो। त्यसपछि उनले सेतो गुदी भएको जङ्गली लिङ्झी अर्थात गानोडर्मा ल्युकोकन्टेक्स्टम सङ्कलनबाट काम शुरु गर्दै यसको कृत्रिम खेतीको सम्भावना खोजेका थिए।


निरन्तर प्रयोग र खेती प्रविधिको विकासपछि न्यिमाले सन् २०१२ मा च्याउको बीउ उत्पादन गर्ने कार्यशाला र प्राकृतिक वातावरणसँग मिल्दोजुल्दो अवस्थामा लिङ्झी उत्पादन गर्ने खेती आधार स्थापना गरे। अहिले उनको फार्ममा लिङ्झी खेती क्षेत्र र हरितगृह गरी एक हजार मु अर्थात करिब ६६.७ हेक्टर क्षेत्रफल समेटिएको छ।

सन् २०२५ मा फार्मको उत्पादन मूल्य ९२ लाख युआन अर्थात करिब १३ लाख ७० हजार अमेरिकी डलर पुगेको जनाइएको छ। व्यक्तिगत उद्यमका रूपमा शुरु भएको यो व्यवसायले स्थानीय रोजगारी सिर्जनामा समेत योगदान पुर्याएको छ। फार्मले ३५ जनालाई स्थायी रोजगारी दिएको छ भने स्थानीय कलेजबाट स्नातक गरेका चार जनालाई पनि काममा नियुक्त गरेको छ।


न्यिमाले आफ्नो व्यवसायलाई व्यक्तिगत आम्दानीमा मात्र सीमित नराखी आसपासका गाउँबासीलाई निःशुल्क च्याउको बीउयुक्त झोला उपलब्ध गराउनुका साथै खेतीसम्बन्धी प्राविधिक मार्गदर्शन पनि दिँदै आएका छन्। यसबाट स्थानीय किसानलाई लिङ्झी खेतीमा प्रवेश गर्न र नयाँ आयश्रोत विकास गर्न सहयोग पुगेको बताइएको छ।
न्यिमाको यात्रा सरकारी वित्तीय सहयोग, स्थानीय स्रोतको व्यावसायिक उपयोग, कृषि प्रविधि र उद्यमशीलतालाई जोडेर ग्रामीण क्षेत्रमा रोजगारी तथा उत्पादन विस्तार गर्न सकिने एउटा उदाहरणका रूपमा देखिएको छ।





