रुस र बेलिजबीच राजनीतिक संवाद र सहकार्य विस्तारमा जोड

ड्रागन मिडिया समाचार कक्ष
बेल्मोपान : बेलिजका लागि रुसी महासंघका गैरआवासीय राजदूत निकोलाई सोफिन्स्कीले बेलिजका प्रधानमन्त्री जोन ब्रिसेन्यो र विदेश तथा वैदेशिक व्यापारमन्त्री फ्रान्सिस फोन्सेकासँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध र आपसी सहकार्य विस्तारबारे छलफल गरेका छन्।
बेलिजको ४५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित कूटनीतिक सप्ताहमा सहभागी सोफिन्स्कीले सेप्टेम्बर १८ मा उच्चस्तरीय भेटवार्ता गरेका हुन्। छलफलमा रुस र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापनाको ३५औँ वर्षगाँठको सन्दर्भमा द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै राजनीतिक संवाद र पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।

वार्ताका क्रममा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिबारे पनि छलफल भएको थियो। सोफिन्स्कीले विदेशमन्त्री फोन्सेकालाई बेलिजको स्वतन्त्रता दिवसका अवसरमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले पठाएको व्यक्तिगत बधाई सन्देश हस्तान्तरण गरेका थिए। सन्देशमा रुसले दुई देशबीचको मित्रता र पारस्परिक सम्मानमा आधारित सम्बन्धलाई उच्च महत्त्व दिएको तथा रचनात्मक राजनीतिक संवाद र पारस्परिक हितको सहकार्य थप विकास गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
सोफिन्स्कीले बेलिज भ्रमणका क्रममा अन्य सरकारी तथा व्यावसायिक प्रतिनिधिसँग पनि भेटघाट गरेका छन्। दुई देशबीच पर्यटन, व्यापार, लगानी र शिक्षालगायत क्षेत्रमा सहकार्य विस्तारका सम्भावना रहेका छन्।
कूटनीतिक सम्बन्धको ३५ वर्ष पूरा गरेका रुस र बेलिजले विद्यमान राजनीतिक सम्पर्कलाई निरन्तरता दिँदै व्यावहारिक सहकार्यका नयाँ क्षेत्र विस्तार गर्ने विषयलाई द्विपक्षीय संवादको केन्द्रमा राखेका छन्।





