भ्रष्टाचार मुद्दा विचाराधीन हुँदा पनि कोशी खेलकुद बोर्डका उपाध्यक्ष सार्वजनिक कार्यक्रममा

ड्रागन मिडिया सम्वाददाता
राज्यलाई ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ नोक्सान पुर्याएको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल बिहीबार इटहरीमा आयोजित कार्यक्रममा सहभागी भए। उनी प्रशिक्षक पुनर्ताजगी तालिमको उद्घाटन समारोहमा विशिष्ट अतिथि बनेर मञ्चबाट बोलेका थिए। कार्यक्रमकी प्रमुख अतिथि सामाजिक विकासमन्त्री गीता तिम्सिना थिइन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत कात्तिक १७ गते दायर गरेको मुद्दामा अर्यालसहित ९७ जना प्रतिवादी छन्। आरोपपत्रमा तत्कालीन जिल्ला कृषि विकास कार्यालय, मोरङका योजना अधिकृत रहेका अर्याललाई कैद सजाय, बिगो बराबर जरिवाना र बिगो असुल गर्न माग गरिएको छ। मुद्दाको फैसला भने भएको छैन।
मुद्दामा कैद सजायसमेत माग भएकाले भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार अर्याल स्वतः निलम्बनमा रहनुपर्ने रातोपाटीको समाचारमा उल्लेख छ। ऐनमा केवल बिगो असुल वा सम्पत्ति जफतको माग भएको अवस्थामा निलम्बन नहुने अपवाद रहेको, तर अर्यालविरुद्ध त्यस्तो मात्र माग नभएको समाचारको दाबी छ।
मन्त्री तिम्सिनाले मुद्दा दायर भएको जानकारी पाएको र विषयमा मन्त्रालयमा छलफल भइरहेको बताएकी छन्।
मुद्दा सुनसरी र मोरङमा फलफूल उद्योग चलाउने सर्तमा हदबन्दी छुट पाएको रिजाल क्यानिङ एन्ड कम्पनीको जग्गा सट्टापट्टा तथा बिक्रीसँग सम्बन्धित छ। अख्तियारका अनुसार तत्कालीन कर्मचारीहरूले जग्गाको वास्तविक अवस्था लुकाउने प्रतिवेदन बनाएर सट्टापट्टाका लागि सिफारिस गरेका थिए। यसबाट राज्यलाई ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ नोक्सान भएको आयोगको ठहर छ।
समाचारअनुसार अर्याललाई गत जेठ १४ गते नेपाली कांग्रेसको कोटाबाट बोर्डको उपाध्यक्ष नियुक्त गरिएको थियो।





