मालपोतका नायब सुब्बा एक लाख रुपैयाँसहित पक्राउ

ड्रागन मिडिया सम्वाददाता
सर्लाहीस्थित भूमि प्रशासन कार्यालयका नायब सुब्बा निर्मल तिमिल्सिना एक लाख रुपैयाँसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे उनलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार प्रशासन फाँटमा कार्यरत तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम सहज बनाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ मागेका थिए। सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ।





