थापालाई पक्राउ गरिए कांग्रेस चुप बस्दैन : राणा

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्। बिचौलिया भनिएका इनाम सापकोटाको बयानलाई आधार बनाएर थापामाथि कारबाही गर्न खोजिएको भन्दै उनले सरकारको कदम प्रतिशोधपूर्ण हुने आरोप लगाए।
राणाले सम्भावित गैरकानुनी कदमविरुद्ध पार्टीका नेता तथा कार्यकर्तालाई एकजुट हुन आह्वान गरेका छन्। आफूलाई मन नपरेका व्यक्ति, राजनीतिक नेता, व्यवसायी र कर्मचारीलाई कानुनी प्रक्रिया मिचेर पक्राउ गर्न खोजिएको तथा त्यसका लागि प्रहरी नेतृत्वमाथि दबाब दिइएको उनको दाबी छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गैरकानुनी पक्राउ गर्न नमानेपछि सरकारले उनलाई पदबाट हटाएको राणाले आरोप लगाए। सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोज्नु लोकतन्त्र र विधिको शासनका लागि गम्भीर विषय भएको उनको भनाइ छ।
रास्वपाबाट बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारका गतिविधि विवादित हुँदै गएको राणाले दाबी गरे। व्यवसायी, राजनीतिक दलका नेता तथा कर्मचारीमाथि व्यापक धरपकड भइरहेको आरोप लगाउँदै उनले राज्यशक्तिको दुरुपयोग रोक्नुपर्ने बताए।
सञ्चारमाध्यममाथि दबाब र हस्तक्षेप बढेको आरोप पनि राणाले लगाए। केही दिनअघि सञ्चारगृहमा प्रहरी पठाएर सञ्चारकर्मीलाई पक्राउ गरिएको घटनाको विरोध गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने बताए।
न्यायालयमा समेत सरकारनिकट व्यक्तिमार्फत प्रभाव पार्न खोजिएको राणाको आरोप छ। राज्यका प्रमुख अङ्गलाई नियन्त्रण गर्ने प्रयास लोकतन्त्रका लागि गम्भीर चुनौती हुने उनले बताए। लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका पक्षमा रहेका सबैलाई एकजुट हुन आह्वान गर्दै उनले सरकारको कथित निरङ्कुश प्रवृत्तिविरुद्ध नागरिक सडकमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताए।
“सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,” राणाले भने, “त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं।”





