संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा हो : राष्ट्रपति पौडेल

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कागजमा लेखिएका शब्दहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताएका छन्। संविधान दिवसका अवसरमा शनिबार शीतल निवासमा आयोजित चियापान कार्यक्रममा उनले संविधानले लोकतन्त्र, संघीयता, बहुलवाद र समावेशितामार्फत नागरिकका अधिकार र आकांक्षालाई संस्थागत गरेको उल्लेख गरे।
राष्ट्रपति पौडेलले हालैको विपदले विकासको परिभाषालाई फराकिलो बनाउनुपर्ने आवश्यकता स्मरण गराएको बताए। सडक, पुल र भवन निर्माण मात्र विकास नभएको उल्लेख गर्दै उनले मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि विकासको महत्त्वपूर्ण पक्ष भएको धारणा व्यक्त गरे। विपदपछिको पुनर्निर्माण भौतिक संरचनामा मात्र सीमित हुन नहुनेमा जोड दिँदै उनले विस्थापित परिवारका सपना, आशा र भविष्यसमेत पुनःस्थापित गर्नुपर्ने बताए।
जलवायु परिवर्तनका कारण बढ्दै गएका चुनौतीलाई ध्यानमा राख्दै नेपालको विकासको ढाँचा अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बनाउनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो। उनले विपदबाट प्राप्त अनुभवलाई भविष्यको विकास योजना र पुनर्निर्माण प्रक्रियामा समावेश गर्नुपर्ने आवश्यकता औँल्याए।
संविधानका उपलब्धिबारे चर्चा गर्दै राष्ट्रपति पौडेलले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको विकल्पका रूपमा संघीयता प्राप्त हुनु महत्त्वपूर्ण ऐतिहासिक उपलब्धि भएको बताए। संविधानले राज्यको शासकीय संरचनालाई नयाँ आधारमा स्थापित गर्दै नागरिकको स्वतन्त्रता, सम्मान र अधिकार सुनिश्चित गर्ने अवसर प्रदान गरेको उनको भनाइ थियो। उनले संघीयतालाई देश विकासको महत्त्वपूर्ण आधारका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले संविधानले प्रदान गरेका उपलब्धिलाई व्यवहारमा रूपान्तरण गर्दै नागरिकको जीवनस्तर सुधार र समृद्ध भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने बताए। लोकतन्त्र, संघीयता, बहुलवाद र समावेशिताको जगमा नागरिकका आशा र आकांक्षा पूरा गर्नु नै संविधानको मर्म भएको उनको भनाइ थियो।





