भारतीय विदेश सचिवद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट

ड्रागन मिडिया सम्वाददाता
भारतीय विदेश सचिव विक्रम मिस्रीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। विपद्का बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत सहयोग र ऐक्यबद्धता जनाउनुभएकोमा पनि उहाँले धन्यवाद दिनुभयो।
प्रधानमन्त्री शाहले नेपालको खेलकुद विकासका लागि भारतसँग गर्न सकिने सहकार्यबारे चासो राख्नुभएको थियो।
भेटमा मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउनुभयो। उहाँले भ्रमण सफल बनाउन भारतले तयारी गरिरहेको जानकारी गराउनुभयो।
ऊर्जा, जलस्रोत, व्यापार तथा पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठक सफलतापूर्वक सम्पन्न भएको पनि मिस्रीले बताउनुभयो।
भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलसेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको उहाँले प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभयो। आजै उक्त मार्गमा रेलको परीक्षणसमेत गरिएको उहाँले बताउनुभयो।





