बेइजिङका दुई कार्यक्रममा देव गुरुङको सम्बोधन

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री देवप्रसाद गुरुङले चीनको बेइजिङमा आयोजित समाजवादसम्बन्धी अन्तर्राष्ट्रिय मञ्च र रेनमिन विश्वविद्यालयको प्रवचन कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलन, नेपाल–चीन सम्बन्ध, राष्ट्रिय सार्वभौमिकता र दक्षिण एसियाली भूराजनीतिबारे धारणा राखेका छन्।
चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको १६औँ विश्व समाजवाद मञ्चमा नोभेम्बर ३ मा भएको पूर्णसत्रमा सम्बोधन गर्दै गुरुङले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सी चिनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिलाई पाँचौँ पूर्ण बैठक सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई सन्देश सुनाएका थिए। उनले उक्त बैठकका निर्णयमा मार्क्सवादी पार्टी निर्माण र सुशासनसम्बन्धी विषय समेटिएको उल्लेख गरे।
गुरुङले नेपाली कम्युनिस्ट आन्दोलनले निरङ्कुश राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना र लोकतान्त्रिक रूपान्तरणमा भूमिका खेलेको बताए। तर, वैचारिक विभाजन, संगठनात्मक कमजोरी, आर्थिक निर्भरता र राजनीतिक उपलब्धिलाई सामाजिक–आर्थिक परिवर्तनमा बदल्न नसक्नु आन्दोलनका चुनौती भएको उनको भनाइ थियो।
उनले नेपालका कम्युनिस्ट समूहबीच एकता प्रक्रिया अघि बढिरहेको बताउँदै करिब दुई दर्जन समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको उल्लेख गरे। बाँकी कम्युनिस्ट समूह, नेकपा एमालेसहित, सँग एकता प्रयास जारी राख्ने र राष्ट्रिय सार्वभौमिकताका पक्षमा रहेका लोकतान्त्रिक तथा देशभक्त शक्तिबीच संयुक्त मोर्चा बनाउने पहल गर्नुपर्ने उनको प्रस्ताव थियो। विदेश नीति संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील, विश्वशान्ति र छिमेकी मुलुकसँगको क्षेत्रीय सहकार्यमा आधारित हुनुपर्ने उनले बताए।
नोभेम्बर २ मा रेनमिन विश्वविद्यालयमा गुरुङले “विश्व परिदृश्यको विकास र दक्षिण एसियाली भूराजनीति” शीर्षकमा प्रवचन दिएका थिए। विश्वविद्यालयको अन्तर्राष्ट्रिय सल्लाहकार बोर्डका सदस्य रहेका गुरुङका लागि विश्वविद्यालयले भ्रमण तथा प्रवचन कार्यक्रम आयोजना गरेको जनाइएको छ।
प्रवचनमा उनले विश्व राजनीति अस्थिर बन्दै गएको र विभिन्न क्षेत्रमा बढेका द्वन्द्वले तेस्रो विश्वयुद्धको पूर्वसन्ध्याजस्तो अवस्था सिर्जना गरेको आफ्नो विश्लेषण प्रस्तुत गरे। पश्चिमी शक्तिले नवउपनिवेशवादी आर्थिक संरचना र एकध्रुवीय विश्व व्यवस्था कायम राख्न खोजेको तथा चीन, रूस, उत्तर कोरिया र इरानलाई लक्षित रणनीति अपनाएको उनको आरोप थियो।
गुरुङले युक्रेन, मध्यपूर्व, दक्षिण चीन सागर र दक्षिण एसियाका घटनाक्रमलाई पश्चिमी शक्तिको कथित रणनीतिसँग जोडेर व्याख्या गरे। नेपालमा जेन–जी आन्दोलनका क्रममा भएका घटनालाई पनि उनले यही भूराजनीतिक सन्दर्भमा राख्दै विदेशी संस्थाहरूको भूमिका र राष्ट्रिय स्वाधीनतामाथि दबाब परेको आरोप लगाए। उनले तिब्बतसम्बन्धी गतिविधिलाई चीनको दक्षिणी सीमामा दबाब सिर्जना गर्ने रणनीतिसँग जोडे। यी विषयमा उनको प्रस्तुतिमा लगाइएका आरोप र विश्लेषणलाई स्वतन्त्र रूपमा पुष्टि गर्ने प्रमाण उल्लेख गरिएको थिएन।
दक्षिण एसियामा नेपाल रणनीतिक रूपमा संवेदनशील अवस्थामा रहेको भन्दै गुरुङले नेपाल र छिमेकी मुलुकबीच सहमति, सहकार्य र क्षेत्रीय एकता बलियो बनाउनुपर्ने बताए। विकासशील तथा अल्पविकसित मुलुकले राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न एकजुट हुनुपर्ने उनको निष्कर्ष थियो।
रेनमिन विश्वविद्यालयको कार्यक्रममा विश्वविद्यालयका पार्टी सचिव तथा प्राध्यापक उ फुलाई, नेपालविज्ञ प्राध्यापक वाङ तेङकुई, मार्क्सवादी अध्ययन केन्द्रका प्राध्यापक चेन क्वी, सुशासन तथा भ्रष्टाचार अनुसन्धान केन्द्रका प्राध्यापक चेन छिङहुआ र विश्वविद्यालयमा पत्रकारिता तथा सञ्चार विषय अध्ययनरत नेपाली वरिष्ठ पत्रकार महेन्द्र सुवेदीले टिप्पणी मन्तव्य दिएका थिए।





