भरत दाहाल पक्राउ : साइबर ब्युरोको उजुरीका आधारमा मोरङबाट नियन्त्रणमा, काठमाडौं पठाइयो

ड्रागन मिडिया सम्वाददाता
राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई प्रहरीले आइतबार बिहान मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि दाहाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दाहाललाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित एक चिया पसलबाट पक्राउ गरेको हो। उनीविरुद्ध मोरङमा कुनै उजुरी नरहेको र साइबर ब्युरोको अनुरोधमा पक्राउ गरिएको प्रहरीले स्पष्ट पारेको छ। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ।
त्रिमूल नेपालले सार्वजनिक गरेको विज्ञप्तिअनुसार दाहाल साथीभाइ तथा सहकर्मीसँग राजनीतिक छलफल गर्न असोज २ गते पूर्वतर्फ गएका थिए। असोज ३ गतेको छलफल सम्पन्न गरी असोज ४ गते काठमाडौं फर्कने तयारीमा रहेका बेला उनलाई सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ।
प्रहरीले दाहाललाई विद्युतीय कारोबारसम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गरिएको बताए पनि उनीविरुद्ध परेको उजुरीको पूर्ण विवरण तथा अनुसन्धानको विषय तत्काल सार्वजनिक गरेको छैन। उनी पछिल्लो समय सरकारका गतिविधि र राजनीतिक व्यवस्थाबारे आलोचनात्मक टिप्पणी गर्दै आएका थिए।
त्रिमूल नेपालले अध्यक्ष दाहालको पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीले सार्वजनिक विज्ञप्तिमार्फत सरकारका कमजोरी र शासन व्यवस्थाका त्रुटिविरुद्ध आवाज उठाउँदै आएका व्यक्तिलाई नियन्त्रणमा लिनु राजनीतिक विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको दाबी गरेको छ।
विज्ञप्तिमा वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिक विचार राख्ने नागरिकमाथि राज्य संयन्त्र प्रयोग गरिएको आरोप लगाइएको छ। पार्टीले पक्राउको विरोध गर्नुका साथै देश र जनताको हितका लागि एकताबद्ध हुन आह्वान गरेको छ।
दाहालको पक्राउसँगै राजनीतिक अभिव्यक्ति, विद्युतीय कारोबारसम्बन्धी कानुनको प्रयोग र नागरिकको संवैधानिक अधिकारबारे प्रश्न उठेको छ। यद्यपि पक्राउको वास्तविक कानुनी आधार र अनुसन्धानको विषय स्पष्ट भएपछि मात्र घटनाको पूर्ण मूल्याङ्कन गर्न सकिनेछ। अभियोग प्रमाणित नभएसम्म दाहाललाई निर्दोष मानिने कानुनी सिद्धान्त लागू हुन्छ।





