लोककल्याणकारी विज्ञापनको रकम कटौती फिर्ता लिन माग गर्दै प्रचण्डलाई ध्यानाकर्षणपत्र

ड्रागन मिडिया सम्वाददाता
लोककल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकम कटौती गरिएको विषयमा नेपाल पत्रकार महासंघद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ ले नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको छ। कार्यदलले छापा सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन र आर्थिक दिगोपनका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा असोज ३ गते कोटेश्वरस्थित पेरिसडाँडामा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएको थियो। कार्यदलले लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी संशोधित कार्यविधिमार्फत रकम कटौती गरिएको भन्दै उक्त निर्णय फिर्ता लिन माग गरेको छ।
प्रतिनिधिमण्डलमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष हेमबहादुर राना, सचिव रमेशकुमार बोहोरा, शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत सहभागी थिए। त्यसैगरी कार्यदलका सदस्य टंक कार्की, विश्वराज किराँत, सीता पोखरेल र कल्पना खड्कासहित वरिष्ठ पत्रकारहरूको उपस्थिति थियो। कार्यदलका संयोजक दामोदरप्रसाद दवाडीको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्र प्रचण्डलाई बुझाइएको हो।
कार्यदलले छापा सञ्चारमाध्यमले भोगिरहेका आर्थिक तथा व्यावसायिक चुनौतीलाई ध्यानमा राख्दै लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गरेको छ। पत्रपत्रिकाको नियमित प्रकाशन, पत्रकार तथा कर्मचारीको रोजगारी र सञ्चारमाध्यमको संस्थागत निरन्तरतामा आर्थिक स्रोतको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै कार्यदलले छापा माध्यमको संरक्षणका लागि नीतिगत सुधार आवश्यक रहेको जनाएको छ।
कार्यदलले लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०८३ खारेज गर्न तथा वर्तमान बजार मूल्य र मुद्रास्फीतिका आधारमा विज्ञापनबापत उपलब्ध गराइने रकम पुनरावलोकन गरी कम्तीमा दोब्बर वृद्धि गर्नसमेत माग गर्दै आएको छ। विज्ञापन बोर्डले गर्दै आएको तीन प्रतिशत कटौती हटाउनुपर्ने विषय पनि कार्यदलको मागमा समावेश छ।
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध कार्यदलले विभिन्न राजनीतिक दलका नेतृत्व तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम अघि बढाएको छ। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि ध्यानाकर्षणपत्र बुझाइएको थियो।
यसैबीच नेपाल पत्रकार महासंघले संशोधित कार्यविधिप्रति असहमति जनाउँदै माग पूरा नभए असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघले छापा सञ्चारमाध्यमका लागि लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने व्यवस्था खारेज गर्न र सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकारसँग पहल गर्न माग गरेको छ।





