४ आश्विन २०८३, आईतवार

एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको साझा प्रतिवेदन तयार, नेतृत्व परिवर्तनको विषय समावेश नभएको अर्यालको दाबी

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा साझा प्रतिवेदन तयार गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको कार्यदल बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिँदै केन्द्रीय सचिवालयमा पेस गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले निर्वाचन समीक्षा, बदलिँदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती र संगठनलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा गम्भीर छलफल भएको बताइन्। कार्यदलमा आएका सुझावमाथि खुला छलफल गरी साझा निष्कर्षसहित प्रतिवेदन तयार गरिएको उनको भनाइ छ।

कार्यदलका संयोजक तथा एमाले उपाध्यक्ष रामबहादुर थापाले प्रस्तुत गरेको मस्यौदामा आवश्यक थपघट र परिमार्जन गरी प्रतिवेदनलाई सर्वसम्मत रूप दिइएको अर्यालले जानकारी दिइन्। उनले कार्यदलले नेतृत्व पुनर्गठन वा नेतृत्व परिवर्तनको विषय प्रतिवेदनमा समावेश नगरेको दाबीसमेत गरिन्।

यसअघि महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा र नेता प्रदीप ज्ञवालीले तयार गरेका दस्तावेजका कारण एमालेभित्र पुनर्गठनको विषयमा मतभेद रहेको समाचार सार्वजनिक भएका थिए। अर्यालले भने ती अलगअलग अन्तिम प्रतिवेदन नभई छलफलका लागि तयार गरिएका मस्यौदा मात्र भएको बताइन्।

उनले भनिन्, ‘यो तीनवटा प्रतिवेदन होइन, एउटा मस्यौदा हो। कसैले कुनै विषयमा मस्यौदा गर्नुभएको हुन्छ। त्यसलाई एकीकृत बनाएर बैठकले अन्तिम रूप दिएपछि बल्ल त्यो प्रतिवेदन हुन्छ।’

अर्यालका अनुसार कार्यदलले तयार गरेको साझा प्रतिवेदन सचिवालयमा पेस गरिनेछ। त्यसपछि प्रतिवेदनबारे थप निर्णय गर्ने अधिकार सचिवालयको हुनेछ।

एमालेभित्र निर्वाचन परिणामको समीक्षा र पार्टी पुनर्गठनसँगै नेतृत्व परिवर्तनको विषयमा पनि बहस हुँदै आएको छ। महासचिव पोखरेल र उपाध्यक्ष थापाले तयार गरेका यसअघिका दस्तावेजमा नेतृत्व पुनर्गठनसम्बन्धी फरक दृष्टिकोण रहेको सार्वजनिक भएको थियो। कार्यदलले साझा प्रतिवेदन तयार गरे पनि ती मतभेदको अन्तिम राजनीतिक निरूपण सचिवालय र केन्द्रीय कमिटीको छलफलबाट हुने अपेक्षा गरिएको छ।

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म बस्ने कार्यतालिका छ। बैठकमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन प्रमुख छलफलका विषय रहनेछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button