४ आश्विन २०८३, आईतवार

एमाले कार्यदलको प्रतिवेदनमा ओलीलाई हटाउने प्रस्ताव छैन : बस्नेत

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने प्रस्ताव समावेश नभएको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्षको राजीनामा माग्ने, हटाउने वा आलोचना गर्ने विषय प्रतिवेदनमा नरहेको दाबी गरे।

बस्नेतका अनुसार बलथली बैठकपछि तयार भएका विभिन्न मस्यौदा र १३ वटा समूहबाट प्राप्त सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शंकर पोखरेललाई दिइएको थियो। तीन नेताले तयार गरेको मस्यौदामा कार्यदलले थप छलफल र परिमार्जन गरी २९ पृष्ठको साझा प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको उनले जानकारी दिए।

कार्यदलमा तत्काल विशेष महाधिवेशन वा विशेष विधान महाधिवेशन नबोलाउने सहमति भएको बस्नेतले बताए। यद्यपि, नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय उठ्न सक्ने र त्यसलाई रोक्न नसकिने उनको भनाइ छ। पार्टीको ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्था तथा विगतका विधानसम्बन्धी निर्णयमाथि नियमित विधान महाधिवेशनमा छलफल गर्न सकिने उनले स्पष्ट पारे।

बस्नेतले पार्टी एकता सुदृढ गर्ने उद्देश्यसहित राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयमा पनि कार्यदलमा सहमति भएको जानकारी दिए। उनका अनुसार परिषद् बैठकमार्फत संगठनलाई एकताबद्ध बनाउने र वर्तमान सरकारका गतिविधिविरुद्ध आन्दोलन अघि बढाउने विषयमा छलफल हुनेछ। उनले सरकारका गतिविधिलाई ‘अधिनायकवादी, प्रतिशोधपूर्ण र जनविरोधी’ भएको आरोप लगाए।

कार्यदलले १३ वटा समूहबाट प्राप्त सुझावलाई प्रतिवेदनको अनुसूचीमा समावेश गर्ने निर्णय गरेको छ। बस्नेतका अनुसार साझा प्रतिवेदन आइतबारकै सचिवालय बैठकमा र सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ। उनले प्रतिवेदनबारे बाहिर आएका चर्चा तथा सामाजिक सञ्जालमा फैलिएका विवरणका आधारमा भ्रममा नपर्न आग्रहसमेत गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button