एक वर्षमै पुनर्निर्माणपछि टंगालको भाटभटेनी पुनः सञ्चालनमाएक वर्षमै पुनर्निर्माणपछि टंगालको भाटभटेनी पुनः सञ्चालनमा

ड्रागन मिडिया सम्वाददाता
गत वर्ष भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर मार्केटको मुख्य भवन पुनर्निर्माण सम्पन्न भएको छ। कम्पनीले एक वर्षभित्रै भवन पुनर्निर्माण गरी सोमबार बिहान १० बजेदेखि ग्राहकलाई पुनः सेवा दिने घोषणा गरेको छ।
भाटभटेनी सुपर मार्केटले आफ्नो यात्रा शुरु भएको स्थानबाटै नयाँ अध्याय शुरु गर्न लागेको जनाउँदै ग्राहक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ। कम्पनीले सार्वजनिक गरेको सन्देशमा भनिएको छ, ‘कठिन समयपछि तपाईंहरूको माया र विश्वासले हामीलाई फेरि उठ्ने हिम्मत दिएको छ। अब तपाईंसँग जोडिएका सम्झनाहरूमा नयाँ खुसी थप्ने प्रतीक्षामा छौं।’
भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विभिन्न कठिनाइका बाबजुद कर्मचारी र ग्राहकप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेर पुनर्निर्माण अघि बढाइएको बताएका छन्। आगजनीबाट प्रभावित कम्पनीका विभिन्न स्टोरमा १५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ।
कम्पनीका अनुसार आगजनीबाट ध्वस्त भएका १२ वटा स्टोरमध्ये टंगालसहित १० वटा पुनः सञ्चालनमा आउने भएका छन्। बाँकी दमक र हेटौंडाका स्टोर पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
टंगालको मुख्य भवन पुनः सञ्चालनमा आउनु भाटभटेनीका लागि व्यावसायिक पुनरागमनसँगै कर्मचारीको रोजगारी, ग्राहकको विश्वास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँग जोडिएको महत्वपूर्ण उपलब्धि हो।





