४ आश्विन २०८३, आईतवार

भरत दाहाललाई तत्काल रिहा गर्न नेकपा मालेको माग

ड्रागन मिडिया सम्वाददाता

नेपाल कम्युनिष्ट पार्टी (माले)ले राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न माग गरेको छ। पार्टीका महासचिव सीपी मैनालीले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक विचार र अभिव्यक्तिमाथिको दमन बन्द गर्न सरकारसँग माग गरेका हुन्।

विज्ञप्तिमा कुनै पनि नागरिकले राज्य, सरकार, सत्ता र शासन व्यवस्थाका कमजोरीमाथि प्रश्न उठाउनु, आलोचना गर्नु तथा आफ्नो राजनीतिक दृष्टिकोण सार्वजनिक गर्नु लोकतान्त्रिक अधिकार भएको उल्लेख छ। विचारसँग असहमत भएकै आधारमा पक्राउ गर्ने, आवाज दबाउने र राज्यशक्तिको प्रयोग गरेर असहमत विचार नियन्त्रण गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कारविपरीत रहेको मालेको भनाइ छ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरिएको भनिए पनि आरोप, पक्राउको आधार र अनुसन्धानको विषयमा स्पष्ट जानकारी सार्वजनिक नगरिएको भन्दै पार्टीले प्रश्न उठाएको छ। पक्राउको परिस्थितिले दाहाललाई विचार र अभिव्यक्तिकै कारण नियन्त्रणमा लिइएको आशंका उत्पन्न गरेको मालेको दाबी छ।

दाहालमाथि कुनै कसुरको स्पष्ट प्रमाण भए सार्वजनिक गर्न र निष्पक्ष कानुनी प्रक्रियाबाट अनुसन्धान अघि बढाउन पार्टीले माग गरेको छ। आरोप स्पष्ट नगरी राजनीतिक अभिव्यक्तिलाई आधार बनाएर पक्राउ तथा धरपकड गर्ने कार्यको मालेले निन्दा गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button