कास्कीमा भदौ महिनामा ५६ फरार प्रतिवादी पक्राउ, ११ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन
ड्रागन मिडिया सम्वाददाता
कास्की प्रहरीले गत भदौ महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ५६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० पुरुष र १६ महिला रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका प्रतिवादीलाई कैद सजाय कार्यान्वयन तथा जरिवाना असुलीका लागि सम्बन्धित अदालतमा बुझाइएको छ। उनीहरूबाट कुल ११ वर्ष तीन महिना २७ दिन कैद सजाय र २२ लाख ८९ हजार १७५ रुपैयाँ बिगो असुलउपर भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरू चेक अनादर, लेनदेन, बैंकिङ कसुर, सवारी ज्यान, अभद्र व्यवहारलगायत विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भएका व्यक्ति हुन्। अदालतले तोकेको सजाय कार्यान्वयन नगरी फरार रहेका व्यक्तिको खोजी तथा पक्राउ अभियानलाई प्रहरीले पछिल्लो समय तीव्रता दिएको छ। यसअघि गत साउन महिनामा पनि कास्की प्रहरीले ६७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ महिनामा अनुसन्धानका क्रममा रहेका चालु मुद्दामा थप ११५ जनालाई पक्राउ गरिएको छ। सोही अवधिमा जिल्लाभर अपराधसँग सम्बन्धित १६४ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका नौ, आर्थिक अपराधका १७ र अन्य अपराधसँग सम्बन्धित ११८ मुद्दा रहेका छन्।
प्रहरीले अदालतको फैसला कार्यान्वयन, फरार प्रतिवादीको खोजी तथा अपराध अनुसन्धानलाई निरन्तरता दिँदै कानुनी कारवाहीको दायरामा नआएका व्यक्तिलाई पक्राउ गर्ने अभियान सञ्चालन गरिरहेको जनाएको छ।





