५ आश्विन २०८३, सोमबार

त्रिपुरेश्वरमा चालकले नै बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक निष्कर्ष, अवस्था गम्भीर

ड्रागन मिडिया सम्वाददाता

त्रिपुरेश्वरमा गुडिरहेको बसमा भएको आगलागी चालक आफैंले गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले यात्रुहरूलाई बसबाट ओरालेपछि चालकले आफैं आगो लगाएको प्रारम्भिक निष्कर्ष निकालेको हो। यद्यपि आगो लगाउनुको कारण र त्यसका लागि प्रयोग गरिएको वस्तुबारे अनुसन्धान जारी रहेकाले प्रहरीले यसलाई अन्तिम निष्कर्ष मानेको छैन।

बा २ ख ४२७४ नम्बरको बसका चालक काभ्रेपलाञ्चोकको पनौती निवासी २३ वर्षीय दावा लामा रहेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार अहिलेसम्म प्राप्त विवरणले चालक आफैंले आगो लगाएको संकेत गरे पनि घटनाबारे यात्रु तथा बससँग सम्बन्धित अन्य व्यक्तिसँग सोधपुछ भइरहेको छ।

प्रहरीका अनुसार आगलागीपछि चालकले भाग्ने प्रयास नगरेको तथ्यलाई पनि प्रारम्भिक अनुसन्धानमा हेरिएको छ। प्रत्यक्षदर्शीले सुरुमा यात्रु बस्ने सिटतर्फबाट आगो लागेको देखिएको बताएका छन्। प्रहरी टोली घटनास्थल पुग्दा बसको ढोका भित्रबाट बन्द रहेको र ढोका फुटाएर भित्र प्रवेश गरी चालकको उद्धार गरिएको ट्राफिक प्रहरीका एसपी नरेश सुवेदीले बताएका छन्। आगो लगाउन पेट्रोल वा अन्य कुनै ज्वलनशील पदार्थ प्रयोग गरिएको थियो कि थिएन भन्ने पुष्टि भइसकेको छैन।

गम्भीर घाइते लामालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको छ। अस्पतालका चिकित्सक शंकर राईका अनुसार उनको शरीर ९० प्रतिशतभन्दा बढी जलेको छ। प्रहरीले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ। बसमा लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

घटनाको वास्तविक कारण, आगो कसरी सुरु भयो र त्यसमा प्रयोग भएको सम्भावित पदार्थबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रारम्भिक निष्कर्ष चालकतर्फ केन्द्रित भए पनि विस्तृत अनुसन्धान पूरा भएपछि मात्रै घटनाको कारण र परिस्थितिबारे स्पष्ट हुने प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button