सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट, संसदीय सहकार्य र विपद सहयोगबारे छलफल

ड्रागन मिडिया सम्वाददाता
सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार बिदाइ भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, अन्तर–संसदीय सहकार्य तथा पछिल्लो विपदका क्रममा भारतले उपलब्ध गराएको राहत र उद्धार सहयोगबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुख अर्यालले नेपालमा भारतीय राजदूतका रूपमा कार्यकाल पूरा गरेकोमा श्रीवास्तवलाई बधाई दिँदै उनको कार्यकालमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र सहकार्य सुदृढ बनाउन योगदान पुगेको बताए। पछिल्लो विनाशकारी विपदका क्रममा भारतले उपलब्ध गराएको सहयोगप्रति उनले विशेष आभार व्यक्त गरे। भारतीय वायुसेनाका विमानमार्फत राहत तथा उद्धार सामग्री ल्याइनुका साथै सुरुङ उद्धारका लागि विशेषज्ञ टोली र फरेन्सिक विज्ञसहितको प्राविधिक सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै उनले संकटका समयमा प्राप्त सहयोगले दुई देशबीचको मैत्री, सद्भाव र ऐक्यबद्धतालाई प्रतिबिम्बित गरेको बताए।
भेटमा नयाँ प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको नेपाल–भारत संसदीय मैत्री समूह र त्यसमार्फत विस्तार गर्न सकिने अन्तर–संसदीय सहकार्यबारे पनि छलफल भएको थियो। सभामुख अर्यालले संसदीय कूटनीतिले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै दुवै देशका संसद सदस्यबीच आपसी समझदारी, अनुभव र असल अभ्यासको आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
सभामुख अर्यालले भारतीय संसदलाई लोकतान्त्रिक अभ्यासको सुदृढ संस्थाका रूपमा नेपालले उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गरे। उनले दुवै देशका संसदबीच अनुभव आदानप्रदान र संस्थागत सहकार्य विस्तारले नेपाल–भारत सम्बन्धको राजनीतिक तथा जनस्तरीय आधार थप बलियो बनाउन सहयोग पुग्ने धारणा राखे।
राजदूत श्रीवास्तवले रसुवामा विपदबाट भएको क्षति अकल्पनीय रहेको उल्लेख गर्दै भारतले राहत तथा उद्धार कार्यमा सहयोग जारी राखेको बताए। उनले संकटका समयमा भारत नेपालको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ।





