एमाले केन्द्रीय समिति बैठकमा कृष्णगोपाल श्रेष्ठ र ओलीबीच बोल्ने समयलाई लिएर विवाद

ड्रागन मिडिया सम्वाददाता
नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा नेता कृष्णगोपाल श्रेष्ठ र अध्यक्ष केपी शर्मा ओलीबीच बोल्ने समयलाई लिएर विवाद भएको छ। पार्टी नेतृत्वका विषयमा आलोचनात्मक धारणा राखिरहेका श्रेष्ठलाई निर्धारित समय सकिएको भन्दै ओलीले आफ्नो भनाइ टुङ्ग्याउन आग्रह गरेपछि बैठकमा केहीबेर तनावपूर्ण अवस्था बनेको बताइएको छ।
बैठकमा बोलिरहेका श्रेष्ठलाई अध्यक्ष ओलीले समय सकिएको जानकारी दिँदै बस्न भनेका थिए। तर श्रेष्ठले आफ्नो भनाइ पूरा नभएको भन्दै बोल्न जारी राखेका थिए। त्यसपछि बैठक व्यवस्थापनमा खटिएका स्वयम्सेवकले समेत उनलाई बस्न आग्रह गरेपछि श्रेष्ठ असन्तुष्ट बनेका हुन्।
नेपाल प्रेसका अनुसार श्रेष्ठले बैठकमै आफ्नो धारणा राख्न नपाउने हो भन्दै स्वयम्सेवकप्रति आपत्ति जनाएका थिए। घटनाले पार्टीभित्र नेतृत्व र आन्तरिक छलफलको प्रक्रियालाई लिएर देखिएको मतभिन्नतालाई बैठकमै सतहमा ल्याएको छ।
एमाले केन्द्रीय समिति बैठकमा बोल्न चाहने सदस्यका लागि सीमित समय निर्धारण गरिएको छ। बैठकमा पार्टीको राजनीतिक अवस्था, निर्वाचन समीक्षा, संगठनात्मक संरचना तथा भावी कार्यदिशासहितका विषयमा छलफल भइरहेको छ।





