५ आश्विन २०८३, सोमबार

ओलीको दाबी : जेनजी आन्दोलनअघि अर्थतन्त्रमा सुधारका संकेत र जनतामा आशा देखिएको थियो

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेनजी आन्दोलनअघि आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रलाई लयमा फर्काउने, राजनीतिक स्थिरताको सन्देश दिने र जनतामा भरोसा जगाउने प्रयास गरिरहेको दाबी गरेका छन्। सोमबार पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उनले त्यसबेला अर्थतन्त्रमा केही सुधारका संकेत देखिन थालेको र जनतामा आशा जाग्दै गएको उल्लेख गरेका हुन्।

ओलीले तत्कालीन अवस्थामा देशमा फैलिएको निराशा चिर्न, जनतामा भरोसा बढाउन र अर्थतन्त्रलाई गति दिन संयुक्त सरकार गठन गरिएको बताएका छन्। उनका अनुसार सरकार र राजनीतिक नेतृत्वविरुद्ध अफवाह, गलत सूचना, घृणा र अविश्वास बढ्दै गएको अवस्थामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले असाधारण राजनीतिक मोड लिएको थियो। उक्त आन्दोलनपछि नेपालको राजनीतिक परिस्थिति र सत्ता संरचनामा व्यापक परिवर्तन आएको थियो।

प्रतिवेदनमा ओलीले सामाजिक सञ्जाल नियमनसम्बन्धी तत्कालीन सरकारको निर्णयबारे जनतालाई पर्याप्त रूपमा स्पष्ट पार्न नसक्नु कमजोरी भएको स्वीकार गरेका छन्। उनले निर्णयको उद्देश्य र आवश्यकताबारे प्रभावकारी सार्वजनिक संवाद हुन नसक्दा सरकारप्रति असन्तुष्टि थपिएको संकेत गरेका छन्। सामाजिक सञ्जाल नियमनको विषय जेनजी आन्दोलनअघिको राजनीतिक तनाव र सार्वजनिक बहसको प्रमुख विषयमध्ये एक बनेको थियो।

ओलीले वर्तमान राज्य व्यवस्थाको मूल्याङ्कन गर्दा सरकारी संरचना सञ्चालनमा रहनु मात्र पर्याप्त नहुने धारणा पनि राखेका छन्। प्रशासन, अदालत र अन्य राज्य संरचना कायम रहे पनि तिनमाथि नागरिकको विश्वास उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ छ। राजनीतिक स्थिरता देखिनु र संवैधानिक वैधता तथा संस्थागत विश्वास कायम हुनु एउटै विषय नभएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।

एमालेभित्र पनि जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टी पुनर्गठनलाई लिएर बहस जारी छ। निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले तयार गरेको प्रतिवेदन केन्द्रीय कमिटीमा छुट्टै पेश नगर्ने ओलीले बताएका छन्। कार्यदलका सुझावसमेत ध्यानमा राखेर अध्यक्षको राजनीतिक प्रतिवेदन तयार गरिएको उनको भनाइ छ। पार्टी नेतृत्व, पुनर्गठन र आन्तरिक अनुशासनका विषयमा देखिएको मतभेदबीच जारी केन्द्रीय कमिटी बैठकले एमालेको आगामी राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button