भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको शिक्षा सुनिश्चित गरिने

ड्रागन मिडिया सम्वाददाता
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका सबै बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चित गरिने बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले स्थानीय तहसँग समन्वय गरी प्रभावित बालबालिकाको शिक्षा, संरक्षण र सिकाइ निरन्तरताका लागि सङ्घीय सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिए।
मन्त्री पोखरेलका अनुसार विपदपछिको आवश्यकता आकलन प्रतिवेदनका आधारमा अभिभावक गुमाएका बालबालिकाका आवश्यकता पहिचान गरी कार्यक्रम कार्यान्वयन गरिनेछ। स्थानीय सरकारले अघि सारेका प्रस्तावका आधारमा सङ्घीय सरकारले सहयोग गर्ने बताउँदै उनले प्रभावित कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नदिइने स्पष्ट पारे। अभिभावकविहीन बालबालिकाको शिक्षा र हेरचाहका लागि मन्त्रालयले निजी क्षेत्रसमेतको साझेदारीमा ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको र यसलाई उनीहरूको सिकाइ, संरक्षण तथा विकासमा उपयोग गरिने उनले बताए।
बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नभएसम्म स्थानीय परिस्थिति र आवश्यकताअनुसार अस्थायी सिकाइ केन्द्र, टोल शिक्षा वा आवासीय व्यवस्थामार्फत पढाइलाई निरन्तरता दिइनेछ। विपदपछिको आवश्यकता आकलनका आधारमा क्षतिग्रस्त विद्यालयका पूर्वाधार पुनर्निर्माणको योजना तयार गरी कार्यान्वयन गरिने मन्त्री पोखरेलले जानकारी दिए।
भोटेकोशी बाढीपछि स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई स्वास्थ्य उपचार र मनोसामाजिक परामर्शसमेत उपलब्ध गराइरहेको उनले बताए। आवश्यकता हेरेर अस्थायी सिकाइ केन्द्र स्थापना तथा आवासीय प्रबन्धका लागि स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय भइरहेको छ।
मन्त्री पोखरेलले बाढी प्रभावित क्षेत्रमा विद्यालय पुनर्निर्माण पूरा नहुँदासम्म वैकल्पिक शैक्षिक व्यवस्था सञ्चालन गरेर बालबालिकाको पढाइ अवरुद्ध हुन नदिने सरकारको नीति रहेको बताए। स्थानीय सरकारले प्रस्ताव गरेका आवासीय सुविधासहितका विद्यालय सञ्चालनमा समेत सङ्घीय सरकारले सहयोग गर्ने र प्रभावित बालबालिकाको शिक्षा तथा संरक्षणका लागि आवश्यक सबै व्यवस्था मिलाइने उनको भनाइ छ।





