शिक्षकले पेन्सनपट्टा बनाउन अब काठमाडौं आउन नपर्ने

ड्रागन मिडिया सम्वाददाता
सामुदायिक विद्यालयका स्थायी शिक्षकले अवकाशपछि पेन्सनपट्टा बनाउन अब काठमाडौंस्थित राष्ट्रिय किताबखाना धाउन नपर्ने भएको छ। राष्ट्रिय किताबखाना (शिक्षक) शाखाले परीक्षण सफल भएपछि ई–पेन्सन सेवा देशभर विस्तार गर्ने तयारी गरेको हो। नयाँ व्यवस्थाअन्तर्गत शिक्षकले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईबाटै पेन्सनपट्टा प्राप्त गर्न सक्नेछन्।
शाखाका निर्देशक विश्वास विकका अनुसार काठमाडौं र भक्तपुरमा ई–पेन्सन सेवाको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा काठमाडौंकी शिक्षक चन्द्रकला कार्की र भक्तपुरका जगतकृष्ण सामाले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईबाटै पेन्सनपट्टा प्राप्त गरेका थिए। परीक्षण सफल भएपछि सेवा क्रमशः सबै ७७ जिल्लामा विस्तार गरिने शाखाले जनाएको छ।
यसअघि अवकाशप्राप्त शिक्षकले विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई हुँदै आवश्यक प्रक्रिया पूरा गरेर काठमाडौंस्थित शिक्षक किताबखानासम्म पुग्नुपर्ने व्यवस्था थियो। नयाँ प्रणालीमा शिक्षकले आवश्यक कागजात जिल्ला इकाईमा बुझाएपछि ती कागजात केन्द्रमा पठाइनेछन्। केन्द्रबाट विवरण रुजु भएपछि सम्बन्धित जिल्लाबाटै पेन्सनपट्टा उपलब्ध गराइनेछ।
देशभर एक लाख आठ हजार स्थायी शिक्षकको दरबन्दी रहेको छ। पेन्सनपट्टाका लागि कागजात बोकेर काठमाडौं आउनुपर्ने व्यवस्थाले अवकाशप्राप्त शिक्षकलाई अतिरिक्त खर्च, समय र प्रशासनिक झन्झट थपेको गुनासो हुँदै आएको थियो। ई–पेन्सन सेवा देशव्यापी भएपछि शिक्षक किताबखानासम्म व्यक्तिगत रूपमा पुग्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
निजामती कर्मचारीका लागि पनि गत चैत ६ गतेदेखि ई–पेन्सन सेवा सञ्चालनमा छ। राष्ट्रिय किताबखानाका सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार अवकाशप्राप्त निजामती कर्मचारीले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा आवेदन र आवश्यक कागजात पेश गरेपछि त्यहीँबाट प्रक्रिया पूरा गरी पेन्सनपट्टा प्राप्त गर्न सक्छन्। शिक्षकका लागि पनि यस्तै विकेन्द्रीकृत प्रणाली लागू गरेर पेन्सनसम्बन्धी सेवा जिल्लाबाटै उपलब्ध गराउने तयारी गरिएको हो।





