५ आश्विन २०८३, सोमबार

आठविसकोटले साढे नौ वर्षपछि पायो पहिलो प्रमुख प्रशासकीय अधिकृत

ड्रागन मिडिया सम्वाददाता

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले स्थापना भएको झन्डै साढे नौ वर्षपछि पहिलोपटक दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत पाएको छ। सङ्घीय सरकारका उपसचिव नरेश कटवाल सोमबार प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यालयमा हाजिर भएका हुन्। यसअघि नगरपालिका पाँच जना निमित्त प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो।

कटवालको स्वागतका लागि नगरपालिकाले कार्यालय व्यवस्थापन तथा सरसफाइ गरेको थियो। उनी कार्यालय पुगेपछि कर्मचारीले टीका, माला र खादा लगाएर स्वागत गर्नुका साथै स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरेका थिए। लामो समयदेखि दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत नपाएको नगरपालिकामा उनको आगमनलाई प्रशासनिक व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

नगरपालिकाको अभिलेखअनुसार २०७३ फागुन २७ देखि चैत ७ गतेसम्म कपिलदेव शर्मा, २०७३ चैत ८ देखि २०७६ फागुन ११ सम्म रामबहादुर केसी, २०७६ फागुन १२ देखि २०७८ भदौ २० सम्म ध्रुव लम्साल, २०७८ भदौ २१ देखि २०८१ कात्तिक १४ सम्म मणिराज शाह र २०८१ कात्तिक १५ देखि २०८३ असोज ४ गतेसम्म इञ्जिनियर राजेश गौतमले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालेका थिए।

कार्यवाहक नगर प्रमुख धनकुमारी शाहीका अनुसार यस अवधिमा सङ्घीय सरकारले पाँचदेखि छ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा आठविसकोटमा खटाएको भए पनि उनीहरू कार्यालयमा हाजिर भएनन्। खटाइएका कर्मचारी किन कार्यालय नपुगेका हुन् भन्नेबारे नगरपालिका र सङ्घीय सरकारबीच स्पष्ट जानकारी आदानप्रदान नभएको उनको भनाइ छ। उनले नगरपालिकामा कर्मचारीलाई काम गर्न अवरोध गरिएको भन्ने धारणासमेत अस्वीकार गरेकी छन्।

निवर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत इञ्जिनियर राजेश गौतमले दरबन्दीअनुसार कर्मचारी खटाइएको चर्चा विगतमा पटकपटक भए पनि उनीहरू आधिकारिक रूपमा हाजिर नभएकाले नगरपालिकासँग त्यससम्बन्धी अभिलेख नरहेको बताएका छन्।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत कटवालले जनप्रतिनिधि र कर्मचारीसँग समन्वय तथा सहकार्य गर्दै नगरपालिकाको सेवा प्रवाह प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय भाषा, भूगोल तथा नागरिकका आवश्यकता बुझेका जनप्रतिनिधि र कर्मचारीको अनुभव उपयोग गर्दै काम गर्ने वातावरण सहज बनाउने र सरकारले दिएको जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button