५ आश्विन २०८३, सोमबार

चीनको अर्को जल सङ्ग्रहालय विश्वव्यापी सञ्जालमा, जल सम्पदा संरक्षणमा नयाँ उपलब्धि

ड्रागन मिडिया समाचार कक्ष

उत्तरपश्चिम चीनको निङस्या ह्वी स्वायत्त क्षेत्रको वुचोङस्थित निङस्या जल संरक्षण सङ्ग्रहालय विश्वव्यापी जल सङ्ग्रहालय सञ्जालमा आबद्ध भएको छ। यससँगै उक्त अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध हुने चीनका जल संरक्षण तथा जल संस्कृति संस्थाको संख्या ११ पुगेको छ।

यसअघि चीनको राष्ट्रिय जल सङ्ग्रहालय, पहेँलो नदी सङ्ग्रहालय र चाङच्याङ अर्थात याङ्सी नदी सभ्यता सङ्ग्रहालयसहित दश चिनियाँ संस्था सञ्जालमा आबद्ध भइसकेका थिए। निङस्या जल संरक्षण निकायका अनुसार नयाँ आबद्धताले पहेँलो नदीसँग सम्बन्धित जल संस्कृति र निङस्याको ऐतिहासिक सिँचाइ सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सहयोग गर्नेछ। यसबाट स्थानीय संस्थाले जल सांस्कृतिक सम्पदा संरक्षण र जलश्रोत व्यवस्थापनसम्बन्धी विश्वव्यापी अनुभव तथा विशेषज्ञतासँग सहकार्य गर्ने अवसर पनि पाउनेछन्।

इटालीको भेनिसमा मुख्यालय रहेको विश्वव्यापी जल सङ्ग्रहालय सञ्जाल युनेस्कोको अन्तरसरकारी जलविज्ञान कार्यक्रमअन्तर्गतको प्रमुख पहल हो। विश्वका जल सङ्ग्रहालयबीच सहकार्य विस्तार गर्दै जल सांस्कृतिक सम्पदाको संरक्षण, अनुसन्धान र प्रवर्द्धन गर्नु तथा जलश्रोतको दिगो उपयोगबारे जनचेतना अभिवृद्धि गर्नु यसको प्रमुख उद्देश्य हो। सञ्जाल अहिले ४० भन्दा बढी देशमा विस्तार भएको छ र यसमा १२० भन्दा बढी जल सङ्ग्रहालय, जल संस्कृति संस्था तथा व्यक्तिगत सदस्य आबद्ध छन्।

निङस्याको प्राचीन पहेँलो नदी सिँचाइ क्षेत्र चीनका चार प्रमुख प्राचीन सिँचाइ क्षेत्रमध्ये एक हो। पहेँलो नदी सभ्यता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यसको विशेष महत्त्व छ। सन् २०१७ अक्टोबरमा यसलाई विश्व सिँचाइ सम्पदा संरचनाको सूचीमा समावेश गरिएको थियो। सन् २०२५ सेप्टेम्बरसम्म चीनमा यस्ता ४२ सम्पदा स्थल सूचीकृत भएका थिए।

निङस्याको राजधानी यिनछ्वानमा सन् २०२५ मेमा विश्व सिँचाइ सम्पदा प्रदर्शनी केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको थियो। पहेँलो नदी बेसिनमा दुई हजार वर्ष लामो सिँचाइ सम्पदालाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने यो पहिलो केन्द्र हो। यसले जल संस्कृति, ऐतिहासिक सिँचाइ प्रणाली र पहेँलो नदी सभ्यतालाई एउटै स्थानमा प्रस्तुत गरेको छ।

निङस्याले पछिल्ला वर्षहरूमा जल सांस्कृतिक सम्पदाको संरक्षण र उपयोगलाई थप प्राथमिकता दिएको छ। विश्व सिँचाइ सम्पदा संरचनाको संरक्षणमा विशेष रूपमा केन्द्रित चीनकै पहिलो स्थानीय कानुन लागू गर्नुका साथै प्राचीन पहेँलो नदी सिँचाइ क्षेत्रको सन् २०१८ देखि २०३५ सम्मको संरक्षण योजनामा जल संस्कृतिसम्बन्धी पृथक अध्याय समावेश गरिएको छ।

चीनले राष्ट्रिय स्तरमा पनि जल सम्पदा संरक्षणका लागि संस्थागत संरचना विस्तार गरिरहेको छ। जलश्रोत मन्त्रालयले सन् २०२६ जुलाईमा जल संस्कृति विकाससम्बन्धी निर्देशिका जारी गर्दै संरक्षण, पुस्तान्तरण र प्रवर्द्धनलाई समेट्ने त्रिपक्षीय संरचना अघि सारेको थियो। निर्देशिकामा प्रतिनिधिमूलक जल सम्पदा स्थलको संरक्षण तथा व्यवस्थापनका लागि प्राविधिक मापदण्ड निर्माण, जल सम्पदाको डिजिटल संरक्षण र स्थानीय सरकारलाई यससम्बन्धी विशेष कानुन निर्माण गर्न प्रोत्साहन गर्ने व्यवस्था समेटिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button