विश्लेषक भरत दाहालमाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद

ड्रागन मिडिया सम्वाददाता
राजनीतिक विश्लेषक भरत दाहालमाथि अनुसन्धान गर्न काठमाडौंस्थित नेपाल प्रहरीको साइबर ब्युरोले अदालतबाट तीन दिनको म्याद लिएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरबाट आइतबार पक्राउ गरिएका दाहालमाथि अनुसन्धानका लागि ब्युरोले सोमबार उक्त म्याद प्राप्त गरेको हो।
साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार तीन दिनभित्र अनुसन्धान पूरा नभए थप म्याद मागिनेछ। प्रहरीले दाहाललाई आइतबार सलकपुरस्थित एक चिया पसलबाट पक्राउ गरेको थियो। त्यसपछि विराटनगर विमानस्थल हुँदै बुद्ध एयरको विमानबाट आइतबार साँझ काठमाडौं ल्याइएको थियो।
दाहाल असोज २ गते राजनीतिक छलफल तथा कार्यक्रममा सहभागी हुन पूर्वतर्फ गएको बताइएको छ। शनिबारको कार्यक्रम सम्पन्न गरेर आइतबार काठमाडौं फर्किने तयारीमा रहेका बेला उनी पक्राउ परेका थिए।
दाहालमाथि अनुसन्धानको विषयबारे प्रहरीले विस्तृत आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन। यद्यपि श्रोतलाई उद्धृत गर्दै प्रकाशित विवरणअनुसार अमेरिकी सञ्चारमाध्यम ‘द ग्रेजोन’ले नेपालमा भएको जेन–जी आन्दोलनबारे प्रकाशित गरेको सामग्री दाहालले सामाजिक सञ्जालमा साझा गरेको विषयलाई लिएर अनुसन्धान अघि बढाइएको बताइएको छ।
दाहालले सेप्टेम्बर १२ अर्थात भदौ २७ गते ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षक राखेर उक्त सामग्री सामाजिक सञ्जालमा साझा गरेका थिए। अनुसन्धान जारी रहेकाले उनीमाथि लागेको आरोप, त्यसको कानुनी आधार र अनुसन्धानको अन्तिम निष्कर्षबारे थप विवरण आउन बाँकी छ।





