८ आश्विन २०८३, बिहीबार

झापामा दुई वर्षदेखि बेपत्ता व्यक्तिको आशंकित कंकाल फेला, दुई जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

झापाको मेचीनगर नगरपालिका–७ गैरीगाउँस्थित एक बंगुर फार्ममा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ। करिब दुई वर्षदेखि बेपत्ता एक व्यक्तिको हत्या गरी शव गाडिएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय गुप्तबहादुर सिंह र भारतको अलिपुरद्वारस्थित वीरपारा घर भई हाल मेचीनगर–८ बस्ने ४९ वर्षीय संजय लामा रहेका छन्। सिंहलाई राम भन्ने नामले समेत चिनिने प्रहरीले जनाएको छ।

फेला परेको कंकाल ललितपुरको साविक मनिखेल, हाल महाङ्काल गाउँपालिका–१ स्थायी ठेगाना भएका दिलनाथ बजगाईँको हुन सक्ने प्रहरीको आशंका छ। बजगाईँ २०८१ कात्तिक २९ गतेदेखि मेचीनगर–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए। उनी हराएपछि उनकी श्रीमती तुलसा बुढा बजगाईँले खोजी गरिदिन प्रहरीमा निवेदन दिएकी थिइन्।

अनुसन्धानका क्रममा प्रहरीले बजगाईँसँगै हिँडडुल गर्ने गुप्तबहादुर सिंहसँग सोधपुछ गरेको थियो। प्रहरीका अनुसार सोधपुछका क्रममा सिंहले हत्या गरी शव गाडेको स्वीकार गरेका थिए। त्यसपछि उनले देखाएको स्थानमा प्रहरीले उत्खनन् गरेको हो।

मेचीनगर–७ भान्सा खोला क्षेत्रको गैरीगाउँस्थित जयप्रसाद तिवारीको जग्गामा सिंहले सञ्चालन गर्दै आएको बंगुर फार्ममा स्थानीयवासी र जनप्रतिनिधिको रोहबरमा उत्खनन् गरिएको थियो। जेसीबी प्रयोग गरी खन्ने क्रममा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ।

बरामद कंकाल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। उक्त कंकाल बजगाईँकै हो वा होइन भन्ने यकिन गर्न शव परीक्षणपछि आवश्यक नमुना काठमाडौँस्थित केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले घटनामा पक्राउ परेका व्यक्तिहरूको संलग्नता र घटनाको विस्तृत परिस्थितिबारे थप अनुसन्धान गरिरहेको छ। कंकालको वैज्ञानिक परीक्षणबाट मृतकको पहिचान पुष्टि भएपछि अनुसन्धानलाई थप प्रमाणका आधारमा अघि बढाइनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button