सङ्घीय संसद्का दुवै सदनको बैठक आज, निःशुल्क कानुनी सहायता विधेयक प्रस्तुत हुने
ड्रागन मिडिया सम्वाददाता
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बिहीबार बस्दैछ। प्रतिनिधिसभामा निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक प्रस्तुत गर्ने र फोहोरमैला व्यवस्थापन विधेयकमाथि विचार गर्ने प्रस्ताव अघि बढाउने कार्यसूची रहेको छ। राष्ट्रियसभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदनसहित विभिन्न संसदीय विषयमा छलफल र प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिएको छ।
बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
अपराह्न १ बजेर १५ मिनेटमा बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा सभालाई जानकारी गराउने कार्यक्रम छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची पनि रहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रियसभासमक्ष प्रस्तुत गर्नेछन्। त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
आजै सङ्घीय संसद्अन्तर्गतका पाँच समितिको बैठक पनि बस्ने तय भएको छ। कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिका बैठक निर्धारित कार्यसूचीअनुसार सञ्चालन हुनेछन्।





