बाढीपछिको पुनर्निर्माणमा जर्मनीको सहयोग माग, नेपाललाई वित्तीय र मानवीय सहायता दिने प्रतिबद्धता

ड्रागन मिडिया सम्वाददाता
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग थप सहयोगको आग्रह गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय भेटवार्तामा उनले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशीलता, विपद् पूर्वतयारी र संस्थागत क्षमता अभिवृद्धिमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
भेटवार्तामा परराष्ट्रमन्त्री खनालले बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति जर्मन सरकार र जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता तथा सहयोगप्रति आभार व्यक्त गरे। नेपालले विपद्पछिको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका कार्य अघि बढाइरहेको जानकारी दिँदै उनले भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरण गर्न जलवायु अनुकूल पूर्वाधार, पूर्वतयारी र क्षमता विकासमा थप लगानी अत्यावश्यक रहेको बताए।
नेपालको विकास प्रक्रियामा जर्मनीले लामो समयदेखि पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै मन्त्री खनालले जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्नु विश्व समुदायको साझा जिम्मेवारी भएकोमा जोड दिए। जलवायुजन्य विपद्बाट प्रभावित मुलुकहरूको पुनर्निर्माण र दीर्घकालीन उत्थानशीलता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय साझेदारी सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो।
जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानले नेपालमा हालै उत्पन्न विनाशकारी विपद्लाई विश्वव्यापी साझा चुनौतीका रूपमा लिनुपर्ने बताइन्। उनले विपद्बाट प्रभावित नेपाललाई वित्तीय तथा मानवीय सहयोग उपलब्ध गराउन जर्मनी प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
भेटवार्तामा नेपाल र जर्मनीबीचको मित्रवत द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो। दुवै मन्त्रीले पारस्परिक हितका क्षेत्रमा विद्यमान सहकार्यलाई आगामी दिनमा थप सुदृढ र गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।





