८ आश्विन २०८३, बिहीबार

सम्भावित बाढीपहिरोको जोखिमका कारण पाँचथरका विद्यालय दुई दिन बन्द

ड्रागन मिडिया सम्वाददाता

सम्भावित भारी वर्षा तथा बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै पाँचथर जिल्लाका विद्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय पाँचथरले असोज ८ र ९ गते आकस्मिक बिदा दिन स्थानीय तहलाई पत्राचार गरेपछि जिल्लाका सबै स्थानीय तहले विद्यालयको पठनपाठन स्थगित गर्ने भएका हुन्।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार मौसम विभागबाट प्राप्त सूचनाका आधारमा सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्न सक्ने भएकाले विद्यार्थी तथा शिक्षकको सुरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तहलाई आकस्मिक बिदा दिन आग्रह गरिएको प्रशासनले जनाएको छ।

प्रशासनको आग्रहअनुसार फिदिम नगरपालिका तथा फाल्गुनन्द र याङवरक गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन्। जिल्लाका बाँकी स्थानीय तहले पनि प्रशासनको पत्राचारअनुसार बिहीबार र शुक्रबार पठनपाठन बन्द गर्ने जनाएका छन्।

शनिबार र आइतबार नियमित बिदा परेकाले पाँचथरका विद्यालयमा लगातार चार दिन पठनपाठन नहुने भएको छ। असोज ८ र ९ गतेको आकस्मिक बिदापछि नियमित बिदासमेत जोडिएकाले विद्यालयको पठनपाठन सोमबारदेखि मात्रै पुनः सञ्चालन हुने निर्धारित कार्यक्रम रहेको छ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै सावधानी अपनाउन आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button