८ आश्विन २०८३, बिहीबार

कोहलपुरको होटलबाट अनलाइन सट्टेबाजीको आशङ्कामा ४८ जना पक्राउ, २८ ल्यापटप र ७८ मोबाइल बरामद

ड्रागन मिडिया सम्वाददाता

बाँकेको कोहलपुर नगरपालिका ११ स्थित होटल म्याक्सबाट अनलाइन सट्टेबाजी तथा ठगीमा संलग्न रहेको आशङ्कामा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले होटलमा छापा मारेर ४० भारतीय र आठ नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सुरुमा ४० भारतीय र दुई नेपाली नागरिक गरी ४२ जनालाई नियन्त्रणमा लिइएको थियो। छापाका क्रममा भागेर होटलका कोठामा लुकेका थप छ जनालाई पक्राउ गरेपछि नियन्त्रणमा लिइएकाको सङ्ख्या ४८ पुगेको हो। प्रहरीले होटल सिल गरी घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश विष्टको नेतृत्वमा खटिएको टोलीले छापाका क्रममा २८ ल्यापटप, ७८ मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण बरामद गरेको छ। पक्राउ परेकाहरूले अनलाइन सट्टेबाजीमार्फत ठगी गरेको आशङ्कामा उनीहरूको गतिविधि, आर्थिक कारोबार र सम्पर्क सञ्जालबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतित सिंह राठोरका अनुसार बरामद उपकरणमा रहेका विवरणको प्राविधिक परीक्षणबाट सट्टेबाजीमा भएको रकमको कारोबार, सम्पर्कमा रहेका व्यक्ति र सञ्जालको विस्तारबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ। उपकरणमा रहेका विवरण पुनःप्राप्ति तथा विश्लेषणका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक बजगाईँसहितको प्राविधिक टोली परिचालन गरिएको छ।

प्रहरीले पक्राउ परेकाहरूको सञ्जाल अन्य जिल्लासम्म फैलिएको छ कि छैन भन्ने विषयलाई पनि अनुसन्धानमा समेटेको छ। काठमाडौंमा यसअघि भएको कारवाहीसँग कोहलपुरको घटनाको कुनै सम्बन्ध रहेनरहेको समेत जाँच भइरहेको छ।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरू अनलाइन सट्टेबाजीसँग जोडिएको देखिएको जनाउँदै प्रहरीले उनीहरूविरुद्ध सम्बन्धित कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। कारोबारको वास्तविक परिमाण र सञ्जालको विस्तृत स्वरूप भने विद्युतीय उपकरणको परीक्षण तथा थप अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button