असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, स्थानीय तहद्वारा सतर्कता अपनाउन आग्रह

ड्रागन मिडिया सम्वाददाता
जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म भारी तथा अतिभारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहले सम्भावित विपद्जन्य जोखिमप्रति सतर्क रहन आग्रह गरेका छन्। अत्यधिक वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्ने, सडक डुबानमा पर्ने र बाढीपहिरोको जोखिम उत्पन्न हुन सक्ने भन्दै आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको हो।
काठमाडौँ महानगरपालिकाले विशेषगरी विद्यालय आउने र फर्कने बालबालिकाको सुरक्षामा ध्यान दिन शिक्षक, अभिभावक तथा विद्यालय प्रशासनलाई अनुरोध गरेको छ। महानगरपालिकाको शिक्षा विभागकी महाशाखा प्रमुख सरस्वती पोखरेलले प्रतिकूल मौसममा विद्यार्थीको आवतजावत जोखिमपूर्ण हुन सक्ने भएकाले विद्यालयहरूले थप सावधानी अपनाउनुपर्ने बताएकी छन्।
महानगरपालिकाले विद्यार्थीलाई नदी, खोला, खुला ढल तथा डुबान भएका सडकबाट टाढा राख्न र विद्यालय आउजाउ गर्दा सुरक्षित बाटो प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। कक्षाकोठामा समेत सम्भावित जोखिम र अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई जानकारी गराउन विद्यालय प्रशासनलाई भनिएको छ।
विद्यालय परिसरमा पानी जम्ने, पर्खाल भत्किने वा पहिरो जाने सम्भावना रहेनरहेको यकिन गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउन पनि निर्देशन दिइएको छ। कुनै आपत्कालीन अवस्था उत्पन्न भएमा स्थानीय प्रहरी तथा विपद् व्यवस्थापन समितिसँग तत्काल समन्वय गर्न महानगरपालिकाले आग्रह गरेको छ।
मौसम अत्यन्तै प्रतिकूल भई विद्यार्थीको जीवन जोखिममा पर्ने अवस्था देखिएमा महानगरपालिकाको शिक्षा विभागसँग समन्वय गरेर पठनपाठन स्थगित गर्ने वा वैकल्पिक व्यवस्था अपनाउने निर्णय गर्न सकिने जनाइएको छ। स्थानीय तहहरूले मौसमसम्बन्धी सूचनालाई नियमित रूपमा ध्यान दिन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।





