मलको स्थिर आपूर्ति र आधुनिक कृषि प्रविधिबाट चीनमा अन्न उत्पादन वृद्धि

ड्रागन मिडिया समाचार कक्ष
विश्व बजारमा रासायनिक मलको आपूर्ति प्रभावित भइरहेका बेला चीनले उत्पादन, भण्डारण र वितरण प्रणालीलाई व्यवस्थित गर्दै कृषि क्षेत्रको स्थिरता कायम राखेको छ। मलको आपूर्ति सुनिश्चित गर्ने नीतिगत व्यवस्था र आधुनिक कृषि प्रविधिको विस्तारले यस वर्ष चीनको अन्न उत्पादनमा सहयोग पुगेको छ। सरकारी तथ्याङ्कअनुसार ग्रीष्मकालीन अन्न उत्पादन अघिल्लो वर्षको तुलनामा ०.७ प्रतिशत बढेर १५० अर्ब ७० करोड किलोग्राम पुगेको छ। ग्रीष्मकालीन उत्पादन १५० अर्ब किलोग्राम नाघेको यो पहिलोपटक हो।
मध्य चीनको हुबेई प्रान्तमा शरद्कालीन बाली भित्र्याउने काम अन्तिम चरणमा पुग्दा किसानहरू हिउँदे गहुँ खेतीको तयारीमा जुटेका छन्। एक हजार मु अर्थात करिब ६६.७ हेक्टर जमिनमा खेती गर्ने ४२ वर्षीय किसान फु फङछङले आगामी खेतीका लागि ४० टन मल भण्डारण गरेका छन्। उनले प्रतिटन तीन हजार ६५ युआनमा मल खरिद गरेको र गत वर्षको तुलनामा मूल्य केही बढे पनि आपूर्ति पर्याप्त रहेको बताएका छन्।
यस वर्ष खाडी क्षेत्रमा बढेको भूराजनीतिक तनाव र हर्मुज जलमार्गमा जहाज आवागमन प्रभावित हुँदा विश्वव्यापी मल आपूर्ति शृङ्खलामा अवरोध आएको छ। विश्व बैंकले सन् २०२६ मा विश्व बजारमा मलको समग्र मूल्य ३१ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ। यस्तो अवस्थामा चीनले स्वदेशी उत्पादन विस्तार, कच्चा पदार्थको वैकल्पिक आपूर्ति, भण्डारण व्यवस्थापन र वितरण सञ्जाललाई प्राथमिकता दिएको छ।
चीनको प्रमुख मल उत्पादक हुबेई यिह्वा समूहले स्वचालित उत्पादन प्रणालीमार्फत मलको उत्पादन र प्याकिङ गरिरहेको छ। कम्पनीले सल्फरलगायत कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न विदेशी खरिदका स्रोत विविधीकरण गर्नुका साथै सिनोपेक र पेट्रोचाइनाजस्ता सरकारी उद्यमसँग दीर्घकालीन खरिद सम्झौता गरेको छ। यस वर्षको पहिलो आठ महिनामा कम्पनीको स्वदेशी मल उत्पादन २९ लाख ५० हजार टन पुगेको छ।
चीनले नाइट्रोजन, फस्फोरस, मिश्रित मल, पोटास र विपद् राहतका लागि आवश्यक मल समेट्ने व्यावसायिक भण्डारण प्रणाली विकास गरेको छ। देशभर चार हजार आठ सयभन्दा बढी कृषि सामग्री उद्यम र दुई लाख ८० हजार स्थानीय सेवा केन्द्रमार्फत मल तथा अन्य कृषि सामग्री वितरण भइरहेको छ। यस वर्ष वसन्तकालीन खेतीका समयमा एक करोड टनभन्दा बढी व्यावसायिक मल भण्डारबाट बजारमा उपलब्ध गराइएको थियो।
मलको स्थिर आपूर्तिसँगै आधुनिक कृषि प्रविधिको प्रयोगले प्राकृतिक विपद्बाट हुने क्षति घटाउन सहयोग गरेको छ। अगस्टमा आएको डल्फिन आँधीपछि हेनान प्रान्तका कृषि अनुसन्धानकर्ताले मानवरहित उडान उपकरणमार्फत खेतको अनुगमन गरी माटो र डुबानसम्बन्धी विवरण तत्काल प्राप्त गरेका थिए। ती विवरणका आधारमा पानी निकास र बाली संरक्षणका उपाय अपनाइएको थियो। हेनानमा बाली लगाउने र भित्र्याउने कार्यको समग्र यान्त्रीकरण दर ९० प्रतिशत पुगेको छ भने गहुँ र मकै उत्पादन पूर्ण रूपमा यान्त्रीकृत भएको छ।
चीनका विभिन्न कृषि क्षेत्रमा बेइतोउ भूउपग्रह मार्गनिर्देशन प्रणालीमा आधारित स्वचालित ट्र्याक्टर, आधुनिक बीउ छर्ने उपकरण, पानी र मलको मात्रा नियन्त्रण गर्ने सिँचाइ प्रणाली तथा पराल सङ्कलन गर्ने यन्त्र प्रयोग भइरहेका छन्। देशको प्रमुख अन्न उत्पादक हेइलोङचियाङ प्रान्तमा खेती र बाली भित्र्याउने कार्यको यान्त्रीकरण दर ९९ प्रतिशत नाघेको छ।
हेइलोङचियाङले यस वर्ष २५ हजारभन्दा बढी सटीक बीउ छर्ने यन्त्र र ३३ हजार बाली संरक्षणका मानवरहित उडान उपकरण परिचालन गरेको छ। प्रान्तीय कृषि तथा ग्रामीण मामिला विभागका अनुसार २६ हजारभन्दा बढी कृषि अधिकारी र विशेषज्ञले किसानलाई नयाँ प्रविधि अपनाउन खेतमै पुगेर मार्गदर्शन गरेका छन्।
चीनले यस वर्ष करिब ७०० अर्ब किलोग्राम अन्न उत्पादन गर्ने वार्षिक लक्ष्य राखेको छ। मल आपूर्तिको स्थिरता, कृषि यान्त्रीकरण र प्रविधिमा आधारित विपद् व्यवस्थापनले उक्त लक्ष्य हासिल गर्ने प्रयासलाई सहयोग पुर्याइरहेको छ। चीनको रेनमिन विश्वविद्यालयअन्तर्गत राष्ट्रिय खाद्य सुरक्षा रणनीति विद्यालयका प्रमुख छङ गुओछ्याङले विश्वव्यापी अन्न आपूर्ति दबाबमा रहेको अवस्थामा चीनको स्थिर उत्पादनले अन्तर्राष्ट्रिय बजारको अपेक्षालाई स्थिर बनाउन योगदान दिएको बताएका छन्।





